सोमवार, आषाढ १ २०७७
नेपाल वाइड
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले डेथबडी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन स्थानीय तहलाई आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण हुने डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै समन्वय समितिले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई तयारी अवस्थामा रहन भनेको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आईतबार बसेको १५ औं बैठकले डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आए सम्वन्धित स्थानमा घाट तोक्ने र त्यसका लागि सम्वन्धित पालिकाले नै आवश्यक सामग्रीको व्यवस्था गर्ने व्यवस्थाका लागि आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । डेथबडी व्यवस्थापनमा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र नेपाली सेनाबीचमा आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।
बैठकले संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ । लकडाउनको अवधिमा कतिपय व्यवसायीले धेरै मूल्या लिने गरेको र मिति नाघेका सामान बिक्री गरिरहेको जनगुनासोका आधारमा बजार अनुगमन गर्ने निर्णय गरिएको हो । केही दिनभित्रै उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालयमार्फत बजार अनुगमन गर्ने निर्णय गरिएको समितिका संयोजक चाम्लिङले बताउनुभयो ।
यस्तै, संक्रमितको संख्यालाई मध्यनजर गर्दै प्रत्येक गाउँपालिकामा १० बेडको, नगरपालिकामा २० बेडको तथा दिक्तेलमा प्रदेश सरकारको सहयोगमा ५० बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको छ । बैठकमा आर्थिक वर्षको अन्त्या हुन लागेको र लकडाउन पनि खुकुलो भएकोले जिल्ला बाहिर रहेका कर्मचारी लगायतलाई सकेसम्म रोक्ने र आउनैपर्ने भए अनिवार्य आरडिटि गराएर क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको समितिले जनाएको छ ।