शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न भएको तनावका कारण भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान चलेको छ । सीमा क्षेत्रमा उत्पन्न भएको तनावका कारण द्वीपक्षीय व्यापारमा पर्ने देखिएको हो ।
भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान नै चलाइएको छ भने सरकारले समेत चिनियाँ उत्पादनमा कर बढाउने तयारी गरेको छ । गत सोमबार लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त हँदा २० जना भारतीय सैनिकको ज्यान गएपछि भारतभित्र चिन प्रति आक्रोश बढेको छ ।
यो आक्रोश मत्थर पार्नलाई कुनै न कुनै चीन विरोधी कदम चाल्नैपर्ने दबावमा मोदी सरकार रहेको छ । चिनियाँ उत्पादनमाथि अंकुश लगाउने तयारी यही दबावको उपज मानिएको छ । कम्तिमा ३ सयवटा चिनियाँ वस्तुमाथि कर बढाइन लागेको भारतीय अधिकारीहरुलाई उद्वृत गर्दै बेलायतबाट प्रकाशित हुने ‘द गार्जियन’ले जनाएको छ । भारतीय मिडियाहरुले भने यो समाचार सम्प्रेषण गरेका छैनन् ।
चीनका सामान बहिष्कार गरौं भन्ने नारा लेखिएका टिसर्टहरु भारतमा व्यापक विक्री बढेको छ संञ्चारमाध्यमहरुले जनाएका छन् । चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीन र भारतबीच वर्षमा ८० अर्ब डलरको हाराहारीमा वैदेशिक व्यापार हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष भारतले चीनमा करिब १६ अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो भने ६४ अर्ब डलर बराबरको आयात गरेको थियो । यसरी भारतले एक वर्षमै ५० अर्ब डलरको आसपास व्यापार घाटा व्यहोरेको छ ।
भारतले चीनबाट आयात गर्ने मुख्य वस्तुहरुमा विद्युतीय उपकरणहरु, स्मार्टफोन, टेलिफोन सेट, विभिन्न मेसिनरी सामान, फलाम, स्टिल, स्वास्थ्य सामग्री र उपकरण, खेल सामग्री, कपडा र जुत्ता आदी रहेका छन ।
यसैगरी भारतले चीनमा पेट्रोलियम उत्पादनहरु, कम्प्युटर, केमिकल तथा औषधिजन्य उत्पादनहरु निर्यात गर्छ । चीनसँग भारतको वार्षिक ५९ अर्ब ३० करोड डलरको व्यापार घाटा हुने गरेको छ । भारतको समग्र आयातमा ११ प्रतिशत हिस्सा चीनको छ ।