मंगलवार, आषाढ ९ २०७७
नेपाल वाइड
विगत २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभरि पुष्टि भएका संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा २४ जनाको मृत्यु भएको छ भने २ हजार २ सय २४ जना निको भई अस्पतालबाट घर फर्केका छन । कोरोनाभाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुने २४ औँ व्यक्ति दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ निवासी ४५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मृत व्यक्तिको असार ८ गते राति ९ः३० बजे मृत्यु भएको हो । उनी क्षयरोग र दमको बिरामी रहेका डा गौतामको भनाई छ । दुल्लु अस्पतालबाट असार ३ गते सुर्खेत ल्याइएका उनको सोही दिन स्वाब सङ्कलन गरिएको र भोलिपल्ट संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ९ सय ९५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको जनाएको छ । यो सँगै कोरोनाभाइरस संक्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको संख्या १ ला ८६ हजार ३ सय ६६ पुगेको जनाईएको छ ।
अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड–१९ पुगिसकेको पुष्टि भएको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको जनाईएको छ । अहिले देशभरि ८५ हजार ८ सय १३ जना क्वारन्टीनमा छन । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन ।