मंगलवार, आषाढ ९ २०७७
नेपाल वाइड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारको प्रवेश निलम्बन गरेका छन् । उनले सोमबार यस निर्णयले कोरोना भाइरसको महामारीका कारण संकटमा परेको अर्थतन्त्रलाई सहयोग पुग्नेसमेत बताएका छन् । तर, व्यापारिक समूहहरुले भने सरकारको यस निर्णयको विरोध गरेका छन् ।
राष्ट्रपति ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेका हुन् । ट्रम्पको यस निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा रहेर काम गर्ने कार्यकारीहरु प्रभावित हुनेछन् ।
कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा गम्भीर प्रभावित भएका अमेरिकीहरुलाई रोजगार प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
नयाँ नियमका कारण अमेरिकामा काम गर्ने करिब ५ लाख २५ हजार विदेशी प्रभावित हुने भएका छन् । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै १ लाख ७० हजार विदेशी कामदार छन् ।
यसैगरी बहुराष्ट्रिय कम्पनीहरुमा उच्च तहमा काम गर्नेहरुलाई प्रदान गरिने एल भिसा पनि तत्कालका लागि बन्द गरिएको छ ।