मंगलवार, आषाढ ९ २०७७
नेपाल वाइड
नेपाल ब्याडमिन्टन संघले प्रशिक्षण सुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली खेलकुद ठप्प रहेका बेला ब्याडमिन्टन संघले प्रशिक्षण सुरु गरेको हो ।
ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि सुरु भएको संघका सचिव नवीनविक्रम शाहले जानकारी दिए ।
प्रशिक्षणमा चार जना खेलाडीको सहभागिता रहेको थियो । आइतबारबाट सुरु भएको प्रशिक्षणको पहिलो दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रण्गडमा सामान्य व्यायवमात्र भएको सचिव शाहले जानकारी दिए । दोस्रो दिन भने वर्षाका कारण प्रशिक्षण नभएको उनले बताए ।
“सामान्य प्रशिक्षण आइतबारदेखि सुरु भएको छ । तर, खेलाडीले बाइकमा आतेजाते गर्नुपर्ने भएकाले सोमबार वर्षका कारण प्रशिक्षण हुन सकेन,” उनले भने, “लकडाउनका कारण जोर विजोर भएर पनि खेलाडीलाई प्रशिक्षणमा आउन समस्या भइरहेको छ ।”
उनले थपे, “मंगलबारदेखि हामीले कबर्डहलमै प्रशिक्षण सुरु गर्नेछौं । हलभित्रको सरसफाइ लगभग सकिएको छ । प्रशिक्षण बिहान ८:३० बजेदेखि सुरु हुनेछ ।”
राखेपको अनुमति सहित संघले प्रशिक्षण सुरु गरेको उनले बताए । ब्याडमिन्टनमा सामाजिक दूरी कायम गर्न सजिलो छ । त्यसैले सरकारको नियम पालना गर्दै प्रशिक्षणमा फर्किन सहज भएको उनको बुझाइ छ ।
खेलाडीलाई कोरियाली प्रशिक्षक सेओङ कुक चोईले प्रशिक्षण दिएका थिए । उनी कोरोना भाइसरका कारण देश लकडाउन हुनुभन्दा दुई साताअघि मात्रै नेपाल आइपुगेका थिए ।