बुधवार, आषाढ १० २०७७
नेपाल वाइड
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उप–प्रमुख विणादेवी राईले कृषि, स्वास्थ्य, शिक्षाक्षेत्रलाई प्राथमिकतामा राखेर अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेका हुन् ।
नगर उप–प्रमुख विणादेवी राईले नगरसभामा प्रस्तुत गर्नुभएको वार्षिक बजेट तथा कार्यक्रमको पुर्णपाठ:
आ.व.२०७7।078 को बार्षिक बजेट तथा कार्यक्रम
यस गरीमामय नगरसभाका आदरणीय सभाध्यक्ष महोदय,
सभाका आदरणीय सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरु,
यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गरिमामय नगरसभामा यस नगरपालिकाको नगर उपप्रमुखको हैसियतले विद्यमान विषम परिस्थितिका बीच नगरपालिकाको चौथो बजेटको रूपमा आ.व. २०७7।०७8 को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु। यस अवसरमा देशको राजनीतिक तथा सामाजिक रूपान्तरणका निम्ति ईतिहासका विभिन्न कालखण्डमा भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा देश र जनताको निमित्त आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरू प्रति उच्च श्रद्धाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै घाईते तथा अपाङ्गहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहांहरूको योगदान प्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय लक्ष्य र 'स्वच्छ, सुखी र समुन्नत प्रदेश' भन्ने प्रदेशको गन्तव्य प्राप्तिका लागि नगरको सहभागिता र योगदान सुनिश्चित गर्न 'समाजवाद उन्मुख सभ्य र समृद्ध नगर' बनाउने हाम्रो अभियान जारी छ।
स्थानीय सरकारको रूपमा नगरपालिकाको गठन पश्चात जनशक्ति र भौतिक व्यवस्थापन; नीतिगत, कानूनी एवं संस्थागत संरचनाको विकास; स्रोतहरूको प्रभावकारी परिचालन; दिर्घकालीन विकासको स्पष्ट खाका निर्माण; संघ र प्रदेश तहहरूसंग समन्वय, साझेदारी र सहकार्य आदी जस्ता संक्रमणकालीन अवस्थालाई चिर्दै विगत वर्षहरूको अथक प्रयासबाट हासिल भएका उपलब्धिको जगमा टेकेर विकास र समृद्धिको यात्रालाई तीव्रता दिने मार्गमा हामी अघी बढिरहेका छौं।
तर, यसै बीच कोभिड-19 विश्वव्यापी महामारीका कारण मानव जाति माथि शताब्दिकै सबैभन्दा ठूलो संकट पैदा भएको छ।विश्वले नै गम्भीर मानवीय र आर्थिक संकटको सामना गर्नुपरिरहेको र विकासका सिद्धान्त, मान्यता र प्राथमिकताहरू पुन: परिभाषित हुन थालेको यस सन्दर्भमा नगरपालिकाका प्राथमिकताहरू पनि तदनुरुपनै प्रभावित हुनु स्वभाविकै हो।
आर्थिक वर्ष 2077।078 को बजेट प्रस्तुत गरिरहंदा कोभिड-19 बाट नगरवासीहरूको जीवन रक्षा गर्ने र विकास निर्माण तथा आर्थिक व्यवस्थाहरूलाई पनि गतिशिल र चलायमान बनाउने गम्भिर जिम्मेवारी बोध गरेको छु।
यस विषम परिस्थितिमा सबै जनप्रतिनिधि, राजनैतिक दल, संघ-संस्था, नीजि क्षेत्र, सरोकारवाला निकायहरू तथा आम नगरवासीहरूको सहयोग, सहकार्य र ऐक्यबद्धताले वर्तमान चुनौती सामना गर्न सकिन्छ भन्ने नगरको विश्वास रहेको छ।आगामी वर्षको बजेट नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित हुनुपर्छ भन्ने साझा बुझाई रहेको छ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै अवस्था र आवश्यकता अनुसार कानूनी प्रावधान अनुरुप संशोधन गरी कार्यान्वयन गर्ने गरी बजेट लचकदार रहने गरी प्रस्तुत गरेको छु।
सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,
राज्य पुनर्संरचना पछि गठित नगरपालिका भएकाले आन्तरिक श्रोत परिचालन क्षमता अत्यन्त न्यून रहेको र संघीय सरकार तथा प्रदेश सरकारहरूबाट अनुमान गरिएभन्दा निकै न्यून राजश्व बांडफांड तथा अनुदानहरू प्राप्त हुंदै आएको अवस्था छ। कोभिड-19 को कारणबाट सिर्जित विषम परिस्थितिले व्याप्त बेरोजगारी समस्या तथा स्थानीय सरकारसँग नगरवासी जनताका असिमित अपेक्षाहरुलाई पनि सम्बोधन गर्नु पर्ने चुनौतीहरू विद्यमान छन्। सिमित क्षमता र स्रोत साधन तथा असिमित आवश्यकताका बीचमा तालमेल मिलाई सन्तुलित र दिगो विकास गर्नुपर्ने थप चुनौतीहरू रहेका छन्।
कृषिक्षेत्रलाई बढावा दिन मिश्रित खेती प्रणालीलाई क्रमश: घटाउंदै विभिन्न कृषि बालीका लागि एक गाउं-एक पकेट क्षेत्र घोषणा गरी कृषि उद्यमशिलतातर्फ अघि बढ्ने प्रयास रहेको छ। बिदेश जाने सोचाइ प्रति निरुत्साहित गर्दै कृषि व्यवसायमा धेरै भन्दा धेरै युबाहरुलाई प्रोत्साहित गर्दै र कोभिड-19 को प्रभावले विदेशबाट फर्किएका व्यक्तिहरूको सीप, दक्षता तथा क्षमता स्थानीयस्तरमा परिचालन गरी अर्गानिक नगर बनाउने अवसर रहेको छ।कृषि व्यावसाय तर्फ आकर्षित गर्ने र यस नगरमा सक्रिय कृषि ब्यबसायिहरुको (जुनसुकै उमेर समुहको भए पनि) कामको मूल्याङ्कन गर्दै उहांहरूको अनुभवलाई सम्मान गरी उदाहरणीय कृषकको रुपमा स्थापित गराउन सहयोग गर्ने कार्यक्रम रहेको छ। जातीय सहिष्णुता, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यताले सम्पन्नशाली धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्वको प्रचुर सम्भावना बोकेको हाम्रो नगरपालिकाको यिनै विविधतालाई उपयोग गरी स्रोत साधनको वैज्ञानिक परिचालनबाट यो नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्न हामी प्रयत्नरत छौं ।
यथेष्ट भौतिक पूर्वाधारको कमि, संघ तथा प्रदेश सरकारहरूसंगको परनिर्भरता, संघीयता कार्यान्वयनका क्रममा बांकी रहेका केही नितीगत अस्पष्टता तथा आन्तरिक स्रोतको अपर्याप्तताका बाबजुद यस नगरपालिकाको दिगो तथा गुणस्तरीय सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासको माध्यमबाट समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरको रुपमा विकास गर्ने सोचका साथ आ.व.२०७7।०७8 को बजेट तथा कार्यक्रम यस गरीमामय सभामा प्रस्तुत गर्न गईरहेको छु ।
गरिबी तथा जोखिममा रहेका विपन्न समुदाय र सिमान्तकृत वर्गलाई प्रत्यक्ष लाभ दिने; उच्च तथा दिगो आर्थिक प्रतिफल प्राप्त हुने किसिमका भौतिक पूर्वाधार निर्माण हुने; बढी भन्दा बढी जनसंख्यालाई लाभ पुग्ने स्थानीय समुदायको सामाजिक आर्थिक उन्नतीमा सहयोग पुग्ने; वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्याउने; स्थानीय स्रोत साधनमा आधारित, रोजगारीमूलक तथा सहभागितामूलक पक्षहरूलाई आयोजना छनोटका आधार तोकिएको छ।
आर्थिक वर्ष 2077।078 को यो बजेट तयारी गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, 2074 तथा अन्य विद्यमान कानूनहरू, संघीय सरकार तथा प्रादेश सरकारका नीति, बजेट तथा कार्यक्रम, पन्ध्रौं योजना र प्रदेशको आवधिक योजना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम आवधिक योजना (२०७५।७६ – २०७९।८०) ले निर्देशित गरेका लक्ष्यहरु तथा नेपाल सरकारबाट प्राप्त निर्देशिका तथा मार्गदर्शनहरूलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखेको छु।संघीय प्रतिनिधि सभाका सदस्य तथा प्रदेश सभाका सदस्यज्यूहरूले दिनुभएको सुझावहरू, नगरप्रमुख, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरूको रचनात्मक सुझावहरू, बुद्धिजीवी, राष्ट्र सेवक कर्मचारीहरू, नागरिक समाज, संघ-संस्था तथा निजी क्षेत्रहरूबाट प्राप्त भएका सुझावहरूलाई पनि ध्यान दिएको छु।
सिमित बजेट र स्रोतका बावजुद दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतको श्रोत अनुमान तथा कुल बजेट सीमा निर्धारण समिति, राजस्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, सबै विषयक्षेत्रगत समितिहरु, सबै वडा समितिहरु, संघ-संस्थाहरू, वडावासीहरु, विभिन्न लक्षित वर्गका प्रतिनिधीहरुको प्रत्यक्ष उपस्थितिमा सहभागितात्मक ढंगबाट माग भई आएका योजनाहरु, प्राप्त सल्लाह र सुझाव समेतलाई आत्मसात गर्दै नगर कार्यपालिकाको बैठकमा सघन छलफल सहित पारित गरी यो बजेट तथा कार्यक्रम तयार गरेको छु ।
सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,
अव म आर्थिक बर्ष २०७5।०७6 को यथार्थ र आर्थिक वर्ष 2076।077 को आय र व्ययको संशोधित अनुमान प्रस्तुत गर्न चाहन्छु।
सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,
अब म आ.व. 2077।078 को बजेटका उद्देश्य तथा प्राथमिकताहरु प्रस्तुत गर्न गईरहेको छु ।
बजेटका उद्देश्यहरु :-
बजेटका प्राथमिकताहरु :-
सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,
उल्लेखित उद्धेश्य तथा प्राथमिकताका आाधारमा यस नगरपालिकाको चालु आ.व. २०७7।०७8 को बजेट सारमा प्रस्तुत गर्न गईरहेको छु ।
१) आयतर्फ
क) नगरपालिकाको आन्तरिक आय रकमरु. 1 करोड 5 लाख रहने अनुमान छ।आन्तरिक राजस्व तथा गैर राजस्वका दरमा सामान्य परिवर्तन गरिएको छ।जुन अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, 207७ मा प्रस्तुत गरेको छु।
ख) संघीय सरकार राजस्व बांडफांडबाट रु. ११ करोड ७ लाख ८७ हजार ९० र प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. १ करोड ६४ लाख ७८ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा रु. १२ करोड ७२ लाख ६५ हजार ९० प्राप्त हुने अनुमान गरेको छु ।
ग) संघीय सरकारबाट प्राप्त हुने अनुदात तर्फः वित्तिय समानिकरण अनुदान रु. १४ करोड ४१ लाख, समपूरक अनुदान रु. १ करोड ५६ लाख, विशेष अनुदान रु. २ करोड, सशर्त अनुदान रु. ४० करोड ८९ लाख गरी जम्मा रु. ५८ करोड ८६ लाख प्राप्त हुने अनुमान गरेको छु ।
घ) प्रदेशसरकारबाट प्राप्त हुने अनुदान तर्फः वित्तिय समानिकरण अनुदान रु. ७५ लाख ६२ हजार, समपूरक अनुदान रु. १ करोड, सशर्त अनुदान रु. २ करोड ५१ लाख गरी जम्मा रु. ४ करोड २६ लाख ६२ हजार प्राप्त हुने अनुमान गरेको छु ।
माथि उल्लेखित श्रोतहरूबाट आ. व. २०७७।०७८ को कुल बजेट रु. ७६ करोड ९० लाख २७ हजार ९० हुने अनुमान गरेको छु।
2) विनियोजनतर्फ
क) संघीय सशर्त कार्यक्रम तर्फ रु. ४० करोड ८९ लाख विनियोजन गरेको छु।
ख) संघीय विशेष अनुदानबाट संचालित आयोजनाहरुको लागि रु.२ करोड विनियोजन गरेको छु ।
ग) संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने समपूरक अनुदान तोकिएको आयोजनाहरुको लागि विनियोजन गरेको छु ।
घ) प्रदेश सशर्त कार्यक्रम तर्फरु. २ करोड ५१ लाख विनियोजन गरेको छु।
ङ) चालुखर्च (कार्यालय) तर्फ रु. 12 करोड ८१ लाख ४० हजार ४ सय ७० खर्च गर्ने व्यवस्था मिलाएको छु।वडागत चालु खर्च तर्फ रु. १ करोड १६ लाख विनियोजन गरेको छु।
च) संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधिन र निर्माण हुने नयाँ आयोजनाहरूको लागि रु. ५करोड 5७ लाख विनियोजन गरेको छु।
छ) आर्थिक वर्ष २०६७।७७ मा अनुमानित आन्तरिक राजश्व र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम न्युन हुन गई सिर्जित दायित्वको भुक्तानी दिन रु. २ करोड विनियोजन गरेको छु।
विषयगत विनियोजन तर्फ
1) आर्थिक विकास
कोरोना भईरसले गर्दा विश्व आक्रान्त भईराखेका बेला स्वदेशी उत्पादन अपुग भई खाद्य संकट आउन सक्ने भएको हुँदा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै "आफ्नो गाउं-कृषिमा आत्मनिर्भर बनाउं" भन्ने नीति अबलम्बन गरिएको छ। वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा प्रोत्साहन गर्दै उद्योग व्यापार तथा सेवा क्षेत्रलाई सक्षम वनाउने उद्देश्य लिईएको छ।
2) सामाजिक विकास
कोरोना भाईरसको संक्रमण न्यूनीकरण तथा रोकथामलाई उच्च प्राथमिकतामा राखिएको छ।कोरोना भाइरसका कारणले शिक्षा क्षेत्रमा उत्पन्न संकटलाई हल गर्न तथा विद्यालय तहका विद्यार्थीहरूको निरन्तर अध्ययन गर्ने बानीको विकास गर्न सूचना प्रविधि लगायत बैकल्पिक विधिबाट शिक्षण सिकाई गर्ने नीति लिईएको छ।नगरवासीलाई सर्वसुलभ स्वास्थ्य एवं पोषण, स्वच्छ पिउने पानी तथा सरसफाइको सुविधामा पहुँच बृद्धि गर्दै लाने उद्देश्य लिईएको छ।खेलकुदको विकास, युवा परिचालन एवं प्रवर्द्धन गर्दै लगिनेछ ।लैङ्गिक समानता, सामाजिक समावेशीकरण सुनिश्चित गरी समावेशी विकास गर्ने लक्ष्य लिईएको छ।
3) पूर्वाधार विकास
नगरपालिकाको केन्द्र र मध्यपहाडी लोकमार्गदेखि प्रत्येक वडा केन्द्र, माध्यामिक विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयहरू, सामुदायिक भवनहरूसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको पहुँच पुर्याउन सडक स्तरोन्नतीको कार्यलाई विशेष प्राथमिकता दिईनेछ। प्रत्येक वडामा स्वच्छ खानेपानी आपूर्ति तथा व्यवस्थापन गर्ने नीतिलाई उच्च प्राथमिकतामा राखिनेछ।
4) बन-वाताबरण, विपद व्यवस्थापन तथा सरसफाई
5) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन
सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,
प्रस्तुत बजेटको कार्यान्वयनबाट यस नगरपालिका भित्र सुशासनको अभिबृद्धि भई आर्थिक विकास, सामाजिक विकास तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छु।
यो बजेट निर्माणको क्रममा अहोरात्र खटिई तथा प्रत्यक्ष-अप्रत्यक्ष रचनात्मक, सिर्जनात्मक सल्लाह सुझाव एवं प्रतिक्रिया दिई सहयोग गर्नुहुने नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत राष्ट्रसेवक कर्मचारीहरु, कार्यपालिकाका सदस्यज्यूहरु, सल्लाहकारज्यूहरू, विभिन्न विषयगत समितिका संयोजक तथा सदस्यज्यूहरु, राजनैतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु ।
अन्त्यमा, 'समाजवाद उन्मुख सभ्य र समृद्ध नगर' निर्माण गर्ने अभिभारा र कोभिड-19 ले सिर्जना गरेको चुनौतीहरू बीच आएको यस सम्मानित सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा पनि यहाँहरुको पूर्ण सहयोग प्राप्त हुने कुरामा विश्वास लिएको छु ।
धन्यवाद !