Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना भाइरस (कोभिड–१९) विरुद्ध यूकेमा नयाँ खोपको मानवमा परीक्षण सुरु

    कोरोना भाइरस (कोभिड–१९) विरुद्ध यूकेमा नयाँ खोपको मानवमा परीक्षण सुरु


    • बिहिवार, आषाढ ११ २०७७

    • नेपाल वाइड


    कोरोना भाइरस (कोभिड–१९) विरुद्ध यूकेमा नयाँ खोपको मानवमा परीक्षण सुरु
    प्रतिकात्मक तस्बिर

             कोरोना भाइरस (कोभिड–१९) विरुद्ध यूकेमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ । परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको जनाईएको छ । परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३०० मानिसलाई त्यो खोप लगाइनेछ ।

            इम्पीरीअल कलेज लन्डनमा सुरु गरिएको परीक्षणको नेतृत्व प्राध्यापक रोबिन शाटोक र उनका सहकर्मीहरूले गरेका छन । जनावरहरूमा गरिएको परीक्षणले उक्त खोप सुरक्षित भएको र प्रतिरक्षा प्रणालीलाई सबल बनाउन प्रभावकारी देखिएको छ । अक्स्फोर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यसअघि नै यस्तै किसिमको खोपको मानव परीक्षण सुरु गरिसकेका छन ।

           अहिले विश्वभरि झन्डै १ सय २० वटा खोप विकास कार्यक्रमहरू चलिरहेका छन । वित्तीय क्षेत्रमा काम गर्ने ३९ वर्षीया क्याथी यो परीक्षणमा सहभागी हुने पहिलो मध्येकी एक स्वयंसेवक हुन । क्याथी इम्पीरीअल कलेजको खोप परीक्षण कार्यक्रममा स्वयंसेवक बनेर सहभागी भएकी छन । उनले कोरोनाभाइरसविरुद्धको संघर्षमा सहभागी हुन आफू उक्त परीक्षणमा सहभागी भएको बताइन । उनले भनिन्, ‘मैले के सहयोग गर्न सक्छु भन्ने वास्तवमा थाहा नपाईकनै यो आयो र मलाई मैले यही सहयोग गर्न सक्छु भन्ने लाग्यो ।’

         ‘खोप नबनीकन हामी सामान्य जीवनमा फर्किन सक्दैनौँ भन्ने थाहा भएर पनि म यसको हिस्सा बन्न चाहन्छु ।’ पहिलो चरणको परीक्षणपश्चात् आगामी अक्टोबरमा अर्को चरणको परीक्षण गर्ने योजना छ । त्यसमा ६ हजार मानिसहरू सहभागी हुनेछन । इम्पीरीअल कलेजको समूहले उक्त खोप सन् २०२१ को आरम्भमा यूके र विदेशमा वितरण सुरु हुने अपेक्षा गरेको विविसिले उल्लेख गरेको छ ।

         यसैबीच ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमले चर्चिल अस्पतालमा अक्स्फर्ड विश्व विद्यालयको परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई भेटेका छन । राजकुमारले स्वयंसेवकहरूको प्रशंसा गर्दै उनीहरूले गरिरहेको काम अत्यन्त रोमाञ्चक र स्वागत योग्य भएको बताए । धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर वा त्यसको अंश प्रयोग गरेर बनाइएका छन ।

         तर इम्पीरीअल कलेजले बनाएको खोप भने भिन्न छ । यसमा कोरोनाभाइरसको नक्कल गर्ने कृत्रिम आरएनए अर्थात् आनुवंशिक संरचना प्रयोग गरिएको छ । एक पटक मांसपेशीमा लगाएपछि आरएनएका प्रतिलिपिहरू आफैँ बन्न थाल्छन् र शरीरका कोषिकालाई तिनले भाइरसको सतहमा हुने स्पाईक प्रोटीन बनाउन निर्देशित गर्छन ।

          यसबाट प्रतिरक्षा प्रणालीले कोभिड–१९ वा संक्रमण नभईकनै कोरोनाभाइरसलाई चिन्न र परास्त गर्न सिकाउँछ ।

    सम्बन्धित समाचार