बिहिवार, आषाढ ११ २०७७
नेपाल वाइड
खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि रु ३० करोड ७७ लाख ४४ हजार ३ सय ५ रुपैया बजेट प्रस्तुत गरेको छ । साकेला गाँउपालिका उपाध्यक्ष सरिता खडकाले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उल्लेखित बजेट गाँउसभामा प्रस्तुत गर्नुभएको हो । पालिकाले आर्थिक विकास अन्तर्गत रु एक करोड ३५ लाख, सामाजिक विकास अन्तर्गत रु दुई करोड २२ लाख ३७ हजार, संस्थागत विकास तथा सुशासन अन्तर्गत रु ३८ लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै, वन वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत रु १५ लाख, पूर्वाधार विकास अन्तर्गत रु तीन करोड ७७ लाख ३६ हजार ६१० र प्रशासनिक खर्चमा रु चार करोड ६२ लाख ५० हजार विनियोजन गरेको छ । वडागत बजेट अन्तर्गत रु एक करोड ७५ लाख विनियोजन गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । गाउँपालिका प्रमुख झङ्कारका अनुसार आर्थिक विकास अन्तर्गत कृषि तथा पशुको लागि रु एक करोड १५ लाख, दलित उद्यमशिलता विकास कार्यक्रमको लागि रु पाँच लाख र पर्यटन प्रवद्र्धनमा रु १५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै सामाजिक विकास अन्तर्गत शिक्षालाई रु ९३ लाख, स्वास्थ्यमा रु ६४ लाख, महिला विकासमा रु १८ लाख ३७ हजार, युवा तथा खेलकुद विकास कार्यक्रममा रु १५ लाख, आदिवासी जनजाति भाषा तथा कला सँस्कृति संरक्षणमा रु सात लाख, सूचना, सञ्चार तथा प्रविधिमा रु पाँच लाख, मेलमिलापकर्ता तालिममा रु पाँच लाख, पूर्ण सरसफाई घोषणा अभियानमा रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
संस्थागत विकास तथा सुशासन अन्तर्गत गाउँपालिकाको कार्यालय मर्मत तथा संम्भारमा २० लाख, इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङको प्रतिक्षालय निर्माणका लागि रु पाँच लाख, सेवा र परामर्शमा रु पाँच लाख तथा मर्मत सम्भार कोषमा रु आठ लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिनुभयो । पालिकाले वन वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत नर्सरी स्थापना र रिचार्ज पोखरी निर्माणको लागि रु १५ लाख, पूर्वाधार विकास अन्तर्गत डाँडागाउँ–दोबेला सडक निर्माणको लागि रु १३ लाख, कुन्तुङ सडक निर्माणको लागि रु सात लाख, कात्तिके सोस्तुङ–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक अन्तर्गत रतन्छा खण्ड स्तरोन्नति योजनाका लागि रु ५० लाख, सम्भुडाँडा–मनकेशर घर हुँदै धन्नेश्वरी गुफा सडक निर्माण योजनामा रु पाँच लाख, माथिल्लो किवा–पत्रङ्गेटार सडक निर्माण योजनाको लागि रु दश लाख र किवा–रुवालुङ–मखमले–सोल्मा वडा कार्यालय हुँदै भाङ्टार जोड्ने सडक स्तरोन्नतिका लागि रु दश लाख, नौलाखर्क–हुपापु–आहाले–मानेगाउँ–छाँगेखोला हुँदै धँगेरी धिप्लुङ छाँगा जोड्ने सडक स्तरोन्नती योजना अन्तर्गत रु १५ लाख, नौलाखर्क–पारुङ कात्तिके सडक स्तरोन्नतिका लागि रु पाँच लाख, साझेदारी कार्यक्रम अन्तर्गत रु दुई करोड सात लाख ३६ हजार ६१०, बरडाँडा–कुनाई सडक अन्तर्गत ट्रयाक खोल्न रु पाँच लाख, कात्तिके बाहुनडाँडा वडा कार्यालय हुँदै साकेला थान जोड्ने सडक स्तरोन्नतिका लागि रु १५, वडा नम्बर ३ खिदिमाका खानेपानी मर्मत योजनाका लागि रु दश लाख बजेट विनियोजन गरेको छ । पालिकाको क्रमागत योजनातर्फ कृषि संकलन केन्द्र भवन वडा नं. ५ को लागि रु पाँच लाख, सेखुवा ठूलो कुलो सिंचाई योजनाको लागि रु चार लाख, वडा नं. १ को स्वास्थ्य चौकी भवन निर्माण आठ लाख, स्वर्गीय मणिकुमार राई स्मृति पार्क वडा नं. ३ को लागि रु तीन लाख र वडा नं. ४ अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र निर्माणका पाँच लाख विनियोजन गरेको छ ।