बिहिवार, आषाढ ११ २०७७
नेपाल वाइड
काठमाडौं: कोरोना भाईरस संक्रमणका जोखिमलाई मध्येनजर गर्दै प्रवेशमा रोक लगाइएको काठमाण्डौको पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको छ ।
सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराउन कार्यविधि बनाएर तयारी थालिएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्त मात्रामा स्वयंसेवक परिचालन गर्ने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइ दिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।
आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको हो । असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालन समेत गरिएको जनाईएको छ ।
चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीले गर्दै आएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन ।