बिहिवार, आषाढ ११ २०७७
नेपाल वाइड
लामो समयको लकडाउनका कारण नेपाली चलचित्र क्षेत्र ठप्प भइरहेको छ । यो अवस्थामा चलचित्र छायांकन तथा रिलिज हुन सकेका छैनन् । नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ यो वर्षको दशैँमा रिलिज हुने तयारीमा थियो । युवास्टार अनमोल केसी र नायिका सुहाना थापा अभिनित यस चलचित्रको ३० प्रतिशत बढी छायांकन पनि सकिएको थियो ।
लकडाउनका कारण निर्माण टिम र प्रिप्रोडक्सनको काम समेत अगाडि बढ्न नसकेको बताईएको छ ।निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापासहितको टिमले दशैँमा चलचित्र रिलिज नगर्ने निर्णय गरेको हो । यो टिम अब लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमति दिएपछि काम सुरु गर्ने तयारीमा छ । यद्यपी, दशैँसम्म खुल्ने वातावरण नबन्ने देखिएको छ ।
चलचित्रको प्राबिधिकलगायतका काम सम्पन्न गरिए पनि रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताए ।
‘ए मेरो हजुर ४’ चलचित्रमा सलोन बस्नेतको मुख्य भूमिका छ ।
अनमोल केसीका कुनै पनि चलचित्र हालसम्म दशैँको बिदामा रिलिज भएका छैनन् । यो पटक उहाँले दशैँमा दर्शकमाझ पुग्ने अवसर गुमाउनु भएको छ । यस्तै दशैँमा रिलिज हुने भनिएको दीपकराज गिरीको छक्का पञ्जा ४ पनि यसअघि रिलिज नहुने पक्का भइसकेको छ ।