आइतवार, आषाढ १४ २०७७
नेपाल वाइड
आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने बताएको छ । आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो ।
सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन । हालै भारत र चीनका सेनाबीच सीमामा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिको मृत्यु र ७६ जना घाइते भएका थिए ।
हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक नगरेको वीवीसीले उल्लेख गरेको छ । हङकङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० तारिखमा लेखेका थिए । सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने छन् ।
तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले जानकारी दिएको छैन । आणविक हतियार भएका चीन र भारतले लद्दाखको गलवान उपत्यकामा जुन १५ मा भएको घटनामा एक अर्कालाई दोषारोपण गरिरहेका छन् । प्रतिकूल मौसम रहेको यो उच्च हिमाली भेग अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रणमा छ ।