बुधवार, आषाढ १७ २०७७
नेपाल वाइड
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ ।
बढाएको मुल्य अनुशार अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाइएको निगमले जनाएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता पनि निगम मूल्य समायोजन गरेको थिएन ।
बजारमा खपत नै नभएको भन्दै उच्च नाफा कमाउँदा पनि निगमले तेलको भाउ घटाएको थिएन । जेठको दोस्रो हप्ता पेट्रोल बिक्रीमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा डिजेलमा पनि प्रतिलिटर २५ रुपैयाँ ६९ पैसा र मटितेल ५५ रुपैयाँ ३५ पैसा नाफा हुँदा पनि निगमले भाउ घटाउन चासो थिएन ।
खपत नभएकाले मूल्य समायोजन नएको तर्क गर्दै आएको निगमले नयाँ मूल्य सूची आउनुभन्दा एक दिनअघि नै गत जुन १६ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको छ । सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ थप पूर्वाधार कर लगाएको छ । अब त्यसको भारी सिधै उपभोक्ता माथि परेको छ । बजेटपछि करको भार उपभोक्तालाई नपर्ने तर्क भइरहँदा निगमले भने आफ्नो नाफाको दर कम हुन दिएको छैन ।