बुधवार, आषाढ १७ २०७७
नेपाल वाइड
गैर–कानूनी सम्पत्ती आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठ्माण्डौंमा कार्यरत सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्य विरुद्ध आरोप–पत्र दायर गरेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल खोटाङका आयोजना प्रमुख रहेर केही समयअघि काठ्माण्डौं पुगेका शाक्य विरुद्ध अख्तियारले मंगलबार विशेष अदालत काठ्माण्डौंमा गैर–कानूनी सम्पत्ती आर्जन गरेको सम्वन्धी आरोप–पत्र दायर गरेको हो ।
कमिसन नलिई काम नगर्ने, आर्थिक वर्ष २०७५/०७६ मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ असारमा विभिन्न ठेकेदारसँग करिब ५० लाख खातामा राख्न लगाई बील भुक्तानी गरेको साथै श्रोत नखुलेको सम्पति आर्जन गरेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले गैर–कानूनी सम्पत्ती आर्जन गरेको सम्वन्धी आरोप–पत्र दायर गरेको जनाएको छ ।
२०४९ साल जेठ २ गतेदेखि जिल्ला खानेपानी कार्यालय कञ्चनपुर, महेन्द्रनगरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरी २०६४ साल माघ १ गतेदेखि इन्जिनियर र २०७२ साल कात्तिक १० गतेदेखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका शाक्यको १० करोड ७७ लाख ५० हजार ४५३ रुपैयाँको वैध आयश्रोत नदेखिएको अख्तियारले जनाएको छ । ‘शाक्यले सेवामा प्रवेश गरेदेखि गत फाुगन मसान्तसम्मको जाँच अवधिमा एक करोड ६१ लाख ७३ हजार ५६१ रुपैयाँ आय आर्जन गरेको देखिन्छ ।
तर अनुसन्धानमा लिइएको जाँच अवधिमा १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ,’ अख्तियारको वेबसाईटमा प्रकाशित विज्ञाप्तीमा भनिएको छ, ‘निजको आयको अनुपातमा १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन ।’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले जारी गरेको विज्ञाप्तीमा सिनियर डिभिजन इन्जिनियर शाक्यले आर्जन गरेको श्रोत नखुलेको दुई करोड ५४ लाख ७४ हजार ७२६ बराबरको सम्पत्ति र नपुग बिगो ८ करोड २२ लाख ७५ हजार ७२७ समेत प्रचलित कानुन बमोजिम असुलउपर गर्न र सम्पत्ती जफत गर्ने प्रयोजनका लागि विशेष अदालतमा आरोप–पत्र दायर गरेको जनाइएको छ ।
आरोप–पत्रमा शाक्यकी श्रीमती अल्का र भान्जी नाताकी प्रभा शाक्यलाई समेत प्रतिवादी कायम गरिएको छ । शाक्यले आफ्नो र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानी गरेको, भान्जी नाताकी व्यक्तिका नाममा समेत जग्गा खरिद गरी लुकाई छिपाई राखेको, आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थामा खाता खोलेर मुद्धती निक्षेपमा अवैध रकम राखेको, सो मुद्धती निक्षेप परिपक्व नहुँदै सोही मुद्धती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिलाई लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।
शाक्यले २०७६ साल पुस ८ गते खरिद गरेर श्रीमतीको नाममा राखेको ललितपुर उपमहानगरपालिका–१३ स्थित जग्गा २०७६ साल माघ १२ गते भाञ्जीको नाममा स्वामित्व सारेको तर विस्तृत सम्पत्ती विवरणमा उल्लेख नगरेर गैर–कानुनी सम्पत्ती लुकाउने छिपाउने कार्य गरेको अख्तियारले जनाएको छ ।