Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आवाजको आँधी

    आवाजको आँधी


    • बुधवार, आषाढ १७ २०७७

    • नेपाल वाइड


    आवाजको आँधी

                                                                 सीता थुलुङ  

    आवाजको आँधी

    पृय शासक !
    यतिबेला खुब तातिरहेको छ
    शून्य समयको दिमाग ।
    र तिमी
    तातिएका आक्रोशलाई
    छ्यापेर पानीका फोहोराले
    फगत दुष्प्रयास गरिरहेछौ (शीतलता दिने ।
    बाध्यताको यात्राले डोर्‍याएर
    सिमाना कटि आएका
    अ–नागरिकहरुको
    भरोसाको स–सानो पोया
    फुकिदै–फुकिदै,
    जीवनको अस्तित्व मेटिइरहेछ लगातार...।
    समयले बन्धक बनाएर
    अचेत बनेका मस्तिष्कहरु
    जीवन मोक्षको अस्वस्थ मोहमा डुबिरहेका छन्।
    अनि आँगनसम्म पुगेर सदाका लागि
    गुमनाम बनेका छन् चन्द्रबहादुर परियारको अस्तित्व ।
    राष्ट्रिय इज्जत धान्न सकेको छैन
    सूर्यबहादुर तामाङको खाली पेटले
    तिम्रो उपस्थितिको स्वागतार्थ
    मृत्युलाई अलिकति पनि पर सार्न सकेन
    राजु सदाले ।
    प्रेम र युद्धको अग्रमोर्चा सम्हालेको नवराजले
    जित्न सकेन तिम्रो सत्ताले खडा गरेको नश्लीय मोर्चा
    र भेरिसँगै हेलिँदै–हेलिँदै बगि गए संविधानका धाराहरु ।
    पृय शासक,
    तिमीले कहिले महसुस गर्न नसकेको
    सबैभन्दा नजिकको दुर आवाज
    स्निग्ध आँखा अघिल्तिरको क्रुर दृश्य
    मौनताभित्रको कर्कश कोलाहल
    गुलीयो आश्वासनमा मिसिएको तितो स्वाद
    कोमल हृदयको खस्रो स्पर्श,
    महसुस गरिदेऊ एकपटक ।
    स्वस्थ ज्ञानेन्द्रीयहरुले,
    ताजा मस्तिष्कले,
    विशाल हृदयले।
    नत्र भने
    बेहिसाब,
    बेमौसमी,
    बेतालले,
    आँधी बहने निश्चित छ तिम्रो सत्ताको आँगनमा ।
    र,
    भूइँमान्छेहरुका आवाजको आँधी चलेको दिन
    तिम्रो पनि ढल्नेछ अंहको साम्राज्य ।

     

    सम्बन्धित समाचार