शुक्रवार, आषाढ १९ २०७७
नेपाल वाइड
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खरको छानामुक्त बनाउने अभियान थालेको छ । बिहिबार ४५ गरिब घरधुरीलाई जस्तापाता लगाउनका लागि पहिलो किस्ता वापतको रकम हस्तान्तरण गर्दै खरको छानो हटाउने अभियानको थालनी गरिएको हो ।
नगरक्षेत्रका करिव ९ सय गरिव घरधुरीलाई आगामी दुई वर्षभित्रमा खरको छानो रहित नगर बनाउने लक्ष्यकासाथ उक्त अभियान शुरु गरिएको हो । प्रतिघर ५० हजार प्रदान गरिने कार्यक्रम अन्तर्गत पहिलो किस्ता बापतको रु २५ हजार रकमको चेक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य भटराईले कार्यक्रमका लक्षित परिवारका जीत बहादुर राईलाई पहिलो किस्ता वापतको रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बाँकी रकम भने काम सम्पन्न भएपछि उपलब्ध गराईनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेस्रो नगर दिवसको अवशर पारेर अभियान शुरु गरिएको हो । संघीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी कुल ४५ गरीब घरपरिवारलाई जस्तापाता खरिदका लागि ५० हजारका दरले रकम उपलब्ध गराईको नगर उप–प्रमुख विणादेवी राईले बताउनुभयो ।
उप–प्रमुख राईका अनुशार आर्थिक वर्ष २०७७/७८ मा ३ सय ३८ घरपरिवारलाई उक्त कार्यक्रमले समेटिने लक्ष्य रहेको बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट शुरु भएको कार्यक्रम आगामी आर्थिक वर्षमा जिल्लाका अन्य स्थानिय तहमा समेत सञ्चालन हुनेछ । नगप्रमुख दिपनारायण रिजालले नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त नगर निर्माण गर्ने लक्ष्यका साथ अभियान शुरु गरिएको बताउनुभयो ।
उक्त योजना पहिलो नगरसभाबाट गरिएको भएपनि औपचारिक रुपमा बिहिबारबाट मात्र शुरुवात भएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले जिल्लाभर करिव २३ हजार घरधुरीमा रहेको खरको छानो हटाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
वहाँका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत दुई वर्षभित्र सबै गरिव परिवारको घरमा छाना उपलब्ध गराईने छ । १५ वडा रहेको दिक्तेल नगरपालिकामा यसअघि जनता आवास कार्यक्रम अन्तरगत नयाँ आवास निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएका ८ घर गरिव घरधुरीलाई रकम उपलब्ध गराइएको थियो ।
प्रदेश सरकारद्धारा सञ्चालित जनता आवास परियोजना अन्तरगत नगरपालिकाभित्र बसोबास गर्ने १४ घर गरिव परिवार छनोट गरिएकामा नयाँ घर निर्माण सम्पन्न गर्ने आठ घर गरिव घरधुरीलाई एकमुस्ट रु ३ लाख ५ हजारका दरले रकम प्रदान गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत जिल्लाका १० वटै स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालनमा रहेको छ । खरको छाना हटाउने अभियान शुरु भएसँगै गरिव घरपरिवारलाई राहत मिलेको छ ।