Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्टेज प्रोगाम गुमाउनु परेको अवस्था छ

    लकडाउनको मारमा नवसंगीतकर्मी

    लकडाउनको मारमा नवसंगीतकर्मी


    • शनिवार, आषाढ २० २०७७

    • नेपाल वाइड


    लकडाउनको मारमा नवसंगीतकर्मी

                    अहिले मुलुकभर लकडाउन छ । लकडाउनका कारण कुनै पनि क्षेत्र अछुतो छैन । यसबाट संगीतकर्मी अछुतो रहने कुरै भएन ।

         लकडाउनको मारमा स्थापित गायक/गायीकाभन्दा संगीतका क्षेत्रमा संघर्षरत नयाँ गायक/गायीका परेका छन् । लकडाउन लागू भएपछि गीत संगीतका काममा ब्रेक लागेको गायक तथा संगीतकार इशान बशन्त बताउँछन् । गायक/संगीतकार इसानले लकडाउन अगाडि दिनेश पाख्रिनको निर्देशन रहेको एक सिरियलको टाइटल सङ गरे ।

           पाख्रिनकै सिनेमामा एउटा गीत गाउने पक्का भइसकेको भए पनि लकडाउनले रेकर्डिङको काम सरेको उनकाे भनाइ छ । ‘लकडाउन नभएको भए सिनेमाका लागि गीत गाउने काम भइसक्थ्यो । अहिले त्यो काम रोकिएको छ ।

           लकडाउनभरी कुनै पनि काम गर्न पाइएन,’ इशानले भने, ‘लकडाउन खुकुलो हुँदैजाँदा दुई वटा सिनेमाको गीतको काम हुँदैछ । केही एल्बममा गाउने प्रस्ताव पनि आएको छ । आफ्नै गीतको काम पनि गरिरहेको छु ।’ लकडाउनमा सवारी साधन ठप्प हुँदा संगीतकै कामका लागि उनले दैनिकजसो इचंगुदेखि स्वयम्भु हुँदै ११ किलोमिटर पैदल पार गरेर पुतली सडक ओहोर–दोहोर गरे ।

           लकडाउनमा गर्न नसकिएका संगीतका कामलाई क्रमशः आगामी दिनमा अगाडि बढाउने योजना बनाइएको इशानले बताए । ‘कोठा भाडा तिर्नदेखि छाक टार्नसम्म पनि गाहो पर्ने अवस्था छ,’ उनले थपे, ‘त्यही पनि संगीतकर्मका लागि इचंगुदेखि स्वयम्भु पुतली सडकसम्म धाइरहेकै छु ।’ सांगीतिक कर्मका लागि कम्तीमा एरेञ्जर, संगीतकार, गायक भेला हुनुपर्ने हुन्छ । तर, लकडाउनका कारण भीडमा भेटघाट, छलफल वा भेटघाट गर्ने अवस्था छैन ।

            संगीतकर्मीको राम्रो आम्दानीको श्रोत मानिने ‘स्टेज पर्फमेन्स’ ठप्प छ । गजल साँझ र दोहोरी साँझमा गाउने संगीतकर्मीको रोजगार गुमेको अवस्था छ । गीत संगीतबाट हुने आयआर्जनको बाटोमा चुक्ली लागेजस्तै भएको उनीहरु बताउँछन् ।

           यस्तो अवस्थामा संगीतका क्षेत्रमा संघर्षरत कतिपय संगीतकर्मीले रियाज गर्दै समय विताउने गरेको खोटाङ सुगमस्टार गायक सचिन राई बताउँछन् । ‘लकडाउनले हाम्रो आम्दानीको माध्यम नै गुमेको छ,’ राईले भने, ‘तर पनि लकडाउनलाई रियाज गर्दै सिकाई गर्ने माध्यम बनाइरहेको छु ।’
       गायक तथा संगीतकार पदम थुलुङले पनि लकडाउनका कारण संगीतकर्मीको आयआर्जनको बाटो ठप्प भएको बताउनुभयो । हाल जोरबिजोरमा सवारी साधन चलाउने व्यवस्थामा पनि संगीतकर्मी एकै दिन स्टुडियोमा भेट गर्ने अवस्था नभएको थुलुङले बताउनुभयो । ‘लकडाउनले मूख्यतः संगीतकर्मीको आयश्रोत ठप्प भएको छ,’ थुलुङले भने, ‘अर्कातर्फ गायक, संगीतकार, एरेञ्जर एक ठाउँमा भेला हुने सहज वातावरण अझै बनेको छैन । स्टेज प्रोगाम पनि गुमाउनु परेको अवस्था छ ।’

    सम्बन्धित समाचार