आइतवार, आषाढ २१ २०७७
नेपाल वाइड
पार्टीका शिर्ष नेतृत्व चरम विवादमा फसिरहेकाबेला नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का प्रदेश नम्बर १ का १४ वटै जिल्ला कमिटिले पार्टीलाई टुटफुट र विभाजनबाट बचाउन आग्रह गरेका छन् ।
शिर्ष नेतृत्वको बिवादले नेकपा फुटको संघारमा पुगेको अवस्थामा नेकपाका १४ जिल्ला कमिटिले आईतबार मोरङको बिराटननगर पाँचआलीमा संयुक्त पत्रकार सम्मेलन गर्दै करिब दुई तिहाईको जनमत सहित पाएको जिम्मेवारीलाई गम्भीरतापुर्वक मनन गरी दायित्व पुरा गर्न पार्टीलाई विभाजनबाट रोक्न आग्रह गरेका छन् ।
जिल्ला कमिटिका अध्यक्ष एबं सचिवले विगतमा भएका सहमती, पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिवद्धतालाई हृदयंगम गरी पार्टी एकताको मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न शिर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
‘देशी तथा विदेशी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै पार्टी एकताको बाँकी कामलाई पूर्णता दिँदै संवृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउनुपर्ने घडीमा आपसी विवादले पार्टीलाई गम्भीर क्षती पुयाउने र त्यसको सही समाधान नभए देश र जनताप्रति गम्भीर धोका समेत हुने छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘करिब दुई तिहाईको जनमत सहितको इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापुर्वक मनन गरी पुरा गर्ने दायित्व पार्टीको काँधमा छ । पार्टी एकतालाई थप मजबुद बनाएर लैजान सकेमा मात्र त्यो जिम्मेवारी पुरा हुने भएकाले पार्टीमा टुटफुट र विभाजन रोक्नेगरी पहल गर्न सिंगो नेतृत्व र आम पार्टी पंक्तीमा हार्दिक अपिल गर्दछौँ ।’ नेकपाको १४ जिल्ला कमिटिले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।
नेकपामा सिर्जना भएको पछिल्लो बिवादले कार्यकर्ता, सदस्य र शुभचिन्तक तथा आम नागरिकले पार्टीको संकटपूर्ण अवस्था अनुभुत गरिरहेको विज्ञाप्तीमा उल्लेख छ । नेकपाका शिर्ष नेतृत्व विवादमा फस्दा कार्यकर्तामा तनाव र चिन्ता छाएको नेकपा खोटाङका सचिव रामप्रसाद दंगालले बताउनुभयाे ।