बिहिवार, आषाढ २५ २०७७
नेपाल वाइड
खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना प्रहरी नियन्त्रणमा परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो ।
कोभिड–१९ को संक्रमणबाट बच्नका लागि सरकारले अनिवार्यरूपमा मास्क लगाउन र भौतिक दुरी कायम गर्न आग्रह गरे पनि बेवास्ता गरेको भेटिएकाले नियन्त्रणमा लिएर सचेत गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।
अन्य ठाउँमाभन्दा बढि भीडभाड हुने दिक्तेलबजारमा मास्क प्रयोग नगरी हिँडिरहेको पाइए पछि दुई दिनको अवधिमा ४१ जनालाई नियन्त्रणमा लिएर आगामी दिनमा मास्क लगाएर मात्र हिँडडुल गर्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ । संक्रमितको संख्या दिनानुदिन बढिरहेकाबेला कोभिड–१९ बाट बच्ने सुरक्षाका विषयमा भने हेलचक्र्याई हुन थालेको देखिएको छ ।