बिहिवार, आषाढ २५ २०७७
नेपाल वाइड
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ । कोरोना संक्रमनको जोखिमका लागि चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने सुरक्षाका मापदण्ड बनाईएको छ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।
साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन नि–संक्रमण पनि गर्नुपर्नेछ । सरकारले लामो दूरीको सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय यथावत् राखेको छ । यस्तै ट्याक्सी पनि चलाउन दिने निर्णय भएको छ ।
चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ । निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।
सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताउनुभयो । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।