आइतवार, आषाढ २८ २०७७
नेपाल वाइड
चाम्लिङ राई भाषाको पठन–पाठनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । चाम्लिङ राईको बाहुल्यता रहेको विद्यालयमा सोही भाषाको कक्षा सञ्चालनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा दुई लाख बजेट बिनियोजन गरेको हो ।
विनियोजन गरिएको रकम हाल चाम्लिङ भाषाको पठन–पाठन भइरहेका विद्यालय वा चाम्लिङ भाषाको कक्षा सञ्चालन गर्न चाहने विद्यालयलाई उपलव्ध गराइने मेयर इवन राईले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन सञ्चालन हुँदैआएको छ । चाम्लिङ राई भाषामा पठन–पाठन सञ्चालन गर्दैआएका विद्यालयले प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च कटौती भएको गुनासो गरिरहेकाबेला नगरपालिकाले बजेट विनियोजन गरेको हो ।
विनियोजित रकम चाम्लिङ भाषामा अध्यपन गराउने शिक्षकलाई प्रोत्साहन भत्ताकारुपमा उपलव्ध गराइने मेयर राईले बताउनुभयाे । चाम्लिङ भाषा पढाउने शिक्षकले पाउने प्रोत्साहन भत्ता र चाम्लिङ भाषाकै पाठ्यापुस्तक ढुवानीका लागि प्राप्त हुँदैआएको सहयोग आर्थिक वर्ष २०७६/७७ देखि कटौती भएको गुनासो आएको थियो ।
धितुङमा बुलापन्थे माबिमा कक्षा ५ सम्म, सुर्यज्योती आविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म, दलित जनजारण प्राबिमा कक्षा ५ सम्म, जनकल्या प्राबि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म र पारुहाङशरण प्राबिमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठन–पाठन हुँदैआएको छ ।
सर्वावती प्राबिमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातीका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका बुलापन्थे माबिका शिक्षक रकम रोदुङले बताउनुभयाे ।
चाम्लिङ राईको बाहुल्यता भएको धितुङमा चाम्लिङ भाषाको संरक्षण र संवद्र्धनका लागि तत्कालिन गाबिसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलव्ध गराउनेगरी चाम्लिङ भाषामा पठन–पाठन सुरु गरिएको थियो ।
शिक्षकको सरुवा हुँदा सुर्यज्योती आविमा दुई/तीन वर्ष चाम्लिङ भाषाको पठन–पाठन अवरुद्ध नै भएको थियो । हाल भने सो विद्यालयमा पनि चाम्लिङ भाषाको पठन–पाठन निरन्तर भइरहेको छ । चाम्लिङ राई भाषा पढाउने शिक्षकका लागि स्थानीय तह कार्यान्वयनमा आउन अगाडि एक आर्थिक वर्ष तत्कालिन शिक्षक खम्बराज राई (हाल प्रमुख प्रशासकीय अधिकृत रौतामाई गाउँपालिका, उदयपुर)को पहलमा किरात राई यायोक्खा प्रारम्भिक कमिटिमार्फत एक लाख बजेट व्यवस्था गरिएको थियो ।
धितुङमा चाम्लिङ राई भाषा पढाउने शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको त्यो नै सबैभन्दा ठूलो रकम थियो । नगरपालिकाले विभिन्न भाषाभाषीको प्रोत्साहनमा नीति तथा कार्यक्रम बनाएको भए पनि हालसम्म कुनै पनि विद्यालय भाषिक पठन–पाठनका लागि सहयोग माग्न नआएको मेयर राईले बताउनुभयाे ।