आइतवार, आषाढ २८ २०७७
नेपाल वाइड
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकल महिला तथा आमा समुहलाई बाख्रा बितरण गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ७७ जना एकल महिला र हासीखुसी आमा समुहमा आवद्ध २५ महिलालाई बाख्रा वितरण गरिएको हो ।
एकल महिला तथा आमा समुहमा आवद्ध महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले स्थानीय जातको बाख्रा प्रदान गरेको हो । नगरपालिकाको एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमबाट एकल महिला र आमा समुहमा आवद्ध महिलालाई प्रतिव्यक्ती एक वटाका दरले बाख्रा वितरण गरिएको हो ।
नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले एकल महिला र आमा समुहमा आवद्ध महिलालाई बाख्रा हस्तान्तरण गरेका हुन् । एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमको १५ लाख बजेटबाट नगरपालिकाका एकल महिला र आमा समुहमा आवद्ध महिलालाई बाख्रा वितरण सुरु गरिएको उपमेयर राईले बताईन् ।
बाख्रा पालनका लागि उपयुक्त हावापानी भएकाले राजापानीका एकल महिला तथा आमा समुहमा आवद्ध महिलालाई बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । ‘एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रम शिर्षकमा बजेट बिनियोजन गरेका थियौँ । त्यही रकमबाट बाख्रा वितरण गरिएको हो,’ उपमेर राईले भनिन्, ‘विशेषगरी एकल महिलालाई म एक्लो छैन, साथमा स्थानीय सरकार छ भन्ने अनुभूती गराउँदै आयआर्जनमा टेवा पु¥याउनका लागि बाख्रा उपलव्ध गराइएको हो ।’
नगरपालिकाबाट बाख्रा पाउँदा महिलाले माईती घरबाट दाईजो पाएको सम्झना गरेका छन् । ‘गाउँघरमा छोरीचेलीलाई बाख्रा बोका दाइजो दिने चलन छ । माईतीले दिएको बाख्रा पालेर आम्दानी लिने गरेका थियौँ,’ हासीखुसी आमा समुहकी अध्यक्ष मिठुमायाँ सुयालले भनिन्, ‘नगरपालिकाले दिएको बाख्रा पनि माईतीबाट पाएजस्तै लागेको छ ।
यसबाट हाम्रो आयआर्जनमा टेवा पुग्ने आशा गरेका छौँ ।’ महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले धितुङ, च्यास्मीटार लगायतका एकल महिलालाई पनि बाख्रा वितरण गरिसकेको छ । केही समयपछि यसपछि डिकुवा, बाहुनीडाँडा र बडहरेका एकल महिलालाई पनि बाख्रा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।