आइतवार, आषाढ २८ २०७७
नेपाल वाइड
खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर सामुहिकरुपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिकाले उपलव्ध गराएको आठ लाख अनुदान र ड्रागन फर्म सञ्चालकको चार लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती सुरु गरिएको हो । पहिलो चरणमा झापाबाट तीन हजार विरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती लगाइएको सञ्चालक पर्वत राईले बताउनुभयो ।
ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर खेती लगाइएको हो । पालिका स्तरिय नमूना कृषि फर्म स्थापना तथा सिँचाई केन्द्र शिर्षकमा बिनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।
फर्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनका लागि रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । उनीहरुले आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरेका छन् ।
