सोमवार, आषाढ २९ २०७७
नेपाल वाइड
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउनुभएको हो ।
भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रम ओलीले भने– ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ ।
तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिम पट्टीको गाउँ हो ।
अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डित जी रिडीका ।
त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन् ।’ प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गर्नुभएको छ । त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको वहाँको आशय थियो ।
भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रम ओलीले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन् । नजिकै पर्थो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमला माथि अर्को. ? प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो सृंखलाले निरन्तरता पाउन नसकेको बताउनुभएको छ ।