मंगलवार, आषाढ ३० २०७७
नेपाल वाइड
खोटाङको हलेसी स्थित ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीकाक्रममा उत्कृष्ट काम गर्ने समुह पुरस्कृत भएका छन । हलेशी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३.२७ किलोमिटर सडक स्तरोन्नतीकाक्रममा उत्कृष्ट काम गर्ने समुहलाई ‘मार्ग’ निर्माणका अभियान्ता जनकराज राईले प्रोत्साहन स्वरुप नगदसहित पुरस्कृत गरेका हुन ।
सडक स्तरोन्नतीका लागि टोल–टोलका युवालाई समेटेर बनाइएको समुहलाई कामको मूल्यांकनका आधारमा अभियान्ता राईले प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेका हुन । सात समुहमध्ये उत्कृष्ट पर्खाल लगाएर प्रथम बनेका सालतेम्मा समुहलाई नगद १० हजार, दोश्रो बनेका भञ्ज्याङ समुहलाई पाँच हजार र तेश्रो बनेका वानाम्ला समुहलाई दुई हजार पाँच सय रुपैया प्रदान गर्नुभएको हो ।
सडक स्तरोन्नतीकाक्रममा उत्कृष्ट काम गरेका समुहका लिडरलाई ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माण उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले प्रोत्साहन रकम हस्तान्तरण गर्नुभएको छ । प्रदेश सरकारले उपलव्ध गराएको २५ लाख बजेटबाट सुनकोसी किनार बतासेबाट चुमाखुसम्मको खण्ड स्तरोन्नती गरिएको सडक स्तरोन्नतीका लागि बनाइएको उपभोक्ता समितिका अध्यक्ष कमल चाम्लिङले बताउनुभयो ।
सडक स्तरोन्नतीकाक्रममा ठाउँ–ठाउँमा जाली सहितको पर्खाल हाल्नुका साथै ढुंगाको सोलिङ हालिएको छ । ‘आफ्नो गाउँ आफै बनाऔं’ तथा ‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित खोटाङ तथा खोटाङ बाहिर ३ सय ७८ दाताको आर्थिक सहयोगमा २०६९ साल चैत ५ गते दुर्छिमको दलश्वरचोकदेखि सुरु गरिएको सुनकोशी किनारको बतासेघाट जोड्ने सडक २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक खण्डमा पर्ने दुर्छिमको दलस्वर चोकबाट छुटेको सो सडक करिब ६१ लाख ९० हजारमा पूरा भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
करिब चार सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो ।
समाजसेबी जनकराज राईले मात्र २२ लाख ५४ हजार २३७ रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणकालागि तत्कालिन दुर्छिम गाविसबाट २ लाखको हाराहारीमा मात्र प्राप्त भएको थियो । बाँकी रकम दाताबाट गच्छेअनुशार जुटाइएको हो ।
हलेसीसँग जोडिएको दुर्छिमबाट दक्षिणतर्फ सुनकोसी हुँदै उदयपुर तथा उत्तरतर्फ मंगलटार, दुधकोसी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सडकले दुर्छिमकै होलेलुङको भग्नाबशेष बस्ती र चिहानस्थल समेत छोएको छ । 