Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्ला अस्पताल खोटाङमा पोषण पुःर्नस्थापना गृह स्थापना

    जिल्ला अस्पताल खोटाङमा पोषण पुःर्नस्थापना गृह स्थापना


    • मंगलवार, आषाढ ३० २०७७

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङमा पोषण पुःर्नस्थापना गृह स्थापना

                जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एबं स्याहार सुसारका लागि आवासीय पोषण पुःर्नस्थापना गृह स्थापना गरिएको छ । कुपोषणबाट ग्रस्त भएका बालबालिकाको उचित खानपानका साथै उचित स्याहार–सुसारको व्यवस्थाका लागि नेपाल युथ फाउण्डेसनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग वाल स्वास्थ्य महाशाखामार्फत जिल्ला अस्पतालमा आवासीय पोषण पुःर्नस्थापना गृह स्थापना गरिएको हो ।

              अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैसाख २३ गतेको बैठकको निर्णय अनुशार जिल्ला अस्पतालमा ५ बेडको पोषण पुःर्नस्थापना गृह स्थापना गरिएको हो । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताको सिकारबाट बचाउने तथा कडा रोग लाग्नबाट जोगाउनका लागि पोषण पुःर्नस्थापना गृह सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

             आवासीय पोषण पुःर्नस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

            बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाई र उमेर अनुसारको तौल पु¥याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिका साथै हेरचाह गर्ने अभिभाबकललाई समेत पोषण सम्वन्धी ज्ञान तथा सीप प्रदान गर्नका लागि पोषण पुःर्नस्थापना गृह स्थापना गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताउनुभयाे ।

            आवासीय पोषण पुःर्नस्थापना गृह सञ्चालनका लागि एक जना स्टाफनर्स, एक जना अनमी र एक जना भान्छे नियुक्त गरिएको छ । पोषण पुःर्नस्थापना गृह स्थापना गरिएको विषयमा जिल्ला दुई नगरपालिका र आठ गाउँपालिकालाई जानकारीका लागि पत्राचार गरिसकिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

             आवश्यक उपचार र व्यवस्थापनद्धारा कुपोषित बालबालिकाको उचाई र उमेर अनुशारको तौल पुर्‍याउन केही समय राखिने उपचार कक्ष पोषण पुःर्नस्थापना गृह हो । पोषण पुःर्नस्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उसका एक जना अभिभावकलाई राख्ने व्यवस्था छ ।

             पोषण पुःर्नस्थापना गृहबाट डिस्चार्ज भइसकेपछि पनि ६ महिनाको अवधिमा ३ पटक बच्चाको स्वास्थ्य अवस्था र हेरचाह गर्ने अभिभावकले हाँसिल गरेका ज्ञानको प्रयोगका बारेमा अनुगमन गरिने जनाइएको छ । तर हालसम्म कुनै पनि बिरामी उपचारमा नआएको जिल्ला अस्पतालका प्रमुख फुयाँलले बताउनुभयाे ।

         गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्था हेरेर दैनिक ८ देखि १२ पटकसम्म आहारा खुवाउनुपर्ने सञ्चालन निर्देशिकामा उल्लेख छ । पोषण पुःर्नस्थापना गृह स्थापनाका लागि सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ बाट बजेट निकासा आएको थियो ।

           ‘कुपोषण भएका बालबालिकालाई विभिन्न रोगले ग्रस्त भएपछि मात्र अस्पतालमा पुर्‍याउने गरिन्छ । बालबच्चाको कुपोषणप्रति ध्यान पुग्न सकिरहेको छैन,’ चाम्लिङले भने, ‘कुपोषणबाट बौद्धिक तथा शारीरिक अपांगता हुने तथा कडा रोग लाग्दा ज्यानै जोखिममा पर्ने भएकाले कुपोषणग्रस्त बालबालिकाको उचित खानपान एबं स्याहार सुसारको व्यवस्थाका लागि गर्न पोषण पुःर्नस्थापना गृह स्थापना गरिएको हो ।’
    Jilla Aspatal Khotang Nepalwide.comjpg.jpg

    सम्बन्धित समाचार