बिहिवार, श्रावण १ २०७७
नेपाल वाइड
अनुदान लिएर आवास निर्माण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीय ।
भूकम्पका कारण घर बिहिन बनेका खोटाङका ६ हजारभन्दा बढि परिवारले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन् । आर्थिक वर्ष २०६७/०७७ को मसान्तसम्ममा ६ हजार ९७८ परिवारले निजी आवास अनुदानवापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयका खोटाङले जनाएको छ ।
पुःननिर्माणतर्फ ८ हजार ४६६ घर र प्रवलीकरणतर्फ ३६१ लाभग्राही रहेको जिल्लामा हालसम्म ७ हजार ८७७ परिवारले दोश्रो किस्ता र ८ हजार ३३२ परिवारले पहिलो किस्ता बुझेका छन् । यस्तै, प्रवलीकरणतर्फका लाभग्राहीमध्ये २३३ परिवारले पहिलो किस्तावापतको अनुदान पाइसकेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयका नासु मणीराम ढकालले बताउनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ मा निजीआवास अनुदान वापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ । खोटाङमा २०७४ साल बैसाख ३ गतेदेखि सम्झौता सुरु गरेको पुःननिर्माण प्राधिकरणले २०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ साल बैसाख ३० गतेदेखि दोश्रो किस्ता र २०७५ साल असोजदेखि तेश्रो किस्ता बितरण थालेको थियो ।
किस्ता बुझेर अझै आवास निर्माणको काममा ढिलासुस्ती गर्ने लाभग्राही पनि उत्तिकै छन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो । भूकम्पका कारण जिल्ला १८ सरकारी भवन पूर्ण र ५५ भवनमा आंशिक्षक क्षती पुगेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा गुनासो सर्बेक्षण गरिएका ८ हजार ६०२ मध्ये १ हजार ४४५ लाभग्राही कायम भएको नासु ढकालले बताए ।
गुनासो सर्बेक्षणकाक्रममा प्रवलीकरणमा छानिएका ६०१ जना र पुःननिर्माणमा परेका ८४४ जनामध्ये ७३४ लाभग्राहीले पहिलो किस्ता बुझिसकेको कार्यालयले जनाएको छ ।
भूमीहिन सुकुम्बासीकारुपमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका दुर्गाकुमारी दर्जी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका काजी दमाई, कमला दमाई परिवार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका कृष्णकुमार श्रेष्ठलाई जग्गा खरिदवापत थप २ लाख दिइएको जनाइएको छ ।
जिल्लामा १८ वटा गुम्बा पुःननिर्माण एबं मर्मतसम्भारमा परेकामा आठ वटाको मात्र पुःननिर्माण र मर्मतसम्भारको काम भएको छ । ऐसेलुखर्क गाउँपालिकाका ३ वटा, केपीलासगढी गाउँपालिकाका ३ वटा र साकेला गाउँपालिकाका २ वटाको पुःननिर्माण र मर्मतसम्भारको काम भएको हो ।
गुम्बा पुःननिर्माण र मर्मतसम्भारकाक्रममा ५ लाखदेखि बढिमा २५ लाखका दरले ६२ लाख खर्च भएको नासु ढकालले बताए । दाताबाट रकम नआएपछि आठ वटा गुम्बाको पुःननिर्माण र मर्मतसम्भारको काम भने रोकिएको छ ।
यस्तै, राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार (भ्याट सहित)को खर्चमा निर्माण सुरु गरिएको दिक्तेल–खानीडाँडा–आहाले सडक (१०.७९ किलोमिटर) कालोपत्रेको काममा हालसम्म ३२ प्रतिशत मात्र वित्तीय प्रगती भएको जनाइएको छ । सो सडक २०७५ साल मंसिर १ गते शिलान्यास गरिएको थियो ।