बिहिवार, श्रावण १ २०७७
नेपाल वाइड
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तापखोला किनारको खेतमा धान रोप्दै महिला । तस्बिर:नेपाल वाईड
खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाई सकिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदैआएकामा गत आईतबारसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको हो ।
यस वर्ष बेलैदेखि पर्याप्त वर्षा भएका कारण तिव्र गतिमा रोपाई भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताउनुभयो । प्रमुख राईका अनुशार बेँसी क्षेत्रमा भने चैते धान र मकै भित्र्याउन बाँकी भएकाले रोपाई हुन बाँकी छ ।
जिल्लामा कुल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा धान लगाउने गरिएको छ ।
सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाई हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाई हुने गरेको छ ।
सिञ्चित खेतमा जुनसुकै समयमा रोपाई गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाई हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे लगायतका ठाउँमा सबैभन्दा बढि धान खेती हुने गरेको छ ।
सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाई हुने ३ हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाई हुने गरेको छ ।

रावावेशी गाँउपालिका–६ हौचुरस्थित हौचुरबेशीमा पनि सकियो रोेपाई । तस्बिर:ओजाेनवावु आचार्य