आइतवार, श्रावण ४ २०७७
नेपाल वाइड
खार्मीका स्थानीयले निर्माण गरेको कांसाहोप तालमा डुंगा चलाउँदै स्थानीय ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले बनाएको कांसाहोप तालमा डुंगाको सफल परिक्षण गरिएको छ । लकडाउनकैबीचमा खार्मीका २२ घर स्थानीयले भंगेटारमा निर्माण गरेको कांसाहोप तालमा काठको डुंगाको सफल परिक्षण गरिएको हो ।
कृत्रिम तालमा ढुंगाको सफल परिक्षण भएसँगै आगामी साउन १९ गते पर्ने धान्यपूर्णीमाको अवशर पारेर व्यवस्थित र व्यवसायीकरुपमा डुंगा सञ्चालन सुरु गर्ने तयारी गरिएको ताल निर्माण गरिएको उपभोक्ता समितिका सचिव दिपककुमार तामाङले बताउनुभयाे । ‘तालमा काठको सानो डुंगाको सफल परिक्षण भएको छ । यसबाट हामीलाई उत्साह मिलेको छ,’ सचिव तामाङले भने, ‘काठकै अलि ठूला–ठूला डुंगा तयार पारेर व्यवसायीकरुपमा चलाउने तयारी गरिरहेका छौँ ।’ कांसाहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यवसायीकरुपमा डुंगा सञ्चालनको तयारी थालिएको हो ।
कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् । जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाई गर्न मिल्नेगरी निर्माण गरिएको एल आकारको ताललाई डुंगा शैर गर्ने स्थलकोरुपमा समेत उपयोग गर्ने तयारी थालिएको सचिव तामाङले बताउनुभयाे ।
नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई लकडाउनकैबेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो । तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ । तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाइै ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन् । ‘त्यहाँ सानो खाल्डो थियो । मेसिन लगाएर खाल्डोलाई फराकिलो बनाइएको हो ।
ताल बनाउनका लागि हामीले चन्दा उठायौँ, श्रमदान गरेका छौँ,’ तामाङले भने, ‘यस ठाउँको पर्यटन प्रवद्र्धनकै लागि हामीले ताल बनाएका हौँ । जमिनमा रिचार्जको काम गर्ने तालको पानी तल्लो क्षेत्रमा सिँचाई गर्न समेत उपयोग गर्न सकिने छ ।’ टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदु खोलाको पानी पनि ल्याएर हालिएको छ ।
कांसाहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ । सो स्थानबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिने तामाङले बताए । बाँझोबारीबाट सिधै कांसाहोप ताल पुग्ने छोटो दुरीको सडक निर्माण गर्न सके बाँझोबारी र कांसाहोपको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीयको अपेक्षा छ । बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने तामाङले बताउनुभयाे।
ताल निर्माणकाक्रममा संकलन गरिएको रकममध्ये २ लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सह–चालक तथा श्रमदानमा सहभागी स्थानीयको खाना, खाजामा खर्च गरिएको उपभोक्ता समितिले जनाएको छ ।
