आइतवार, श्रावण ४ २०७७
नेपाल वाइड
नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै बेस्ट जुनियर ब्याडमिन्टन खेलाडी बनेका छन् । ब्याडमिन्टन एसियाले प्रिन्सलाई पछिल्ला खेलहरूको प्रदर्शनको आधारमा उत्कृष्ट जुनियर खेलाडी घोषणा गरेको हो । प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा साताै स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरीयता हो ।
फागुन अन्तिममा सार्वजनिक भएको वरीयतामा १६ वर्षीय प्रिन्सले तीन स्थान सुधार गर्दै साताै स्थानमा रहेका थिए । कोरोनाका कारण प्रतियोगिताहरू नहुँदा प्रिन्स वरीयतामा यथावत् नै रहेका छन् । प्रिन्सले ११ प्रतियोगिताबाट १०४०० अंक जोडेका छन् ।
प्रिन्सले पछिल्लो केही वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । प्रिन्सले गत फागुनमा दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वार्टरफाइनल सम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए ।