बिहिवार, श्रावण ८ २०७७
नेपाल वाइड
सर्वोच्च अदालतले श्रीमती हत्या अभियोगमा कैंद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पुर्वडिआइजी रञ्जन कोईरालालाई छुट दिने आदेश दिएकोप्रति प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले आपत्ती जनाउनुभएको छ ।
खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद भट्टराईले बिहिबार सामाजिक सञ्जालमार्फत ‘अदालतप्रति पुरापुर सम्मान भए पनि फैसलाप्रति घोर आपत्ती’ रहेको जनाउनुभएको हो । भट्टराईले अदालतको निर्णयमा पुनरावलोकन नभए प्रधानन्यायधिस र न्यायधिसमाथि महाअभियोग नै लगाउनुपर्ने धारणा राख्नुभएको छ ।
‘पत्नीको बिभत्स हत्या गरेर काराबास व्यातित गरिरहेका ब्यक्तिलाई बच्चाको रेखदेखको कुतर्क र झिनो त्यान्द्रो समातेर छुटकारा दिने फैसला आपत्तिजनक छ,’ सांसद भट्टराईले लेखेका छन्, ‘मुलुकको प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु न्यायालयको बिस्वास र गरिमा ध्वस्त हुनु हो भने न्यायप्रणाली र कानूनको खिल्ली उडाउनु हो । यसमा पुनरवलोकन भएन भने महाअभियोग लगाउन पनि तयार हुनुपर्छ कि !’
श्रीमती गीता ढकालको हत्या अभियोगमा सर्वोच्चको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर कोईराला बिहिबार डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । उनीमाथि श्रीमतीको हत्या गरेर अन्यत्र लगेर शव जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोग छ ।
गीताको शव २०६८ साल पुस २८ गते जलेको अवस्थामा फेला परेको थियो ।