शनिवार, श्रावण १० २०७७
नेपाल वाइड
अग्नि पिडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुहुदै प्रदेशसभा सदस्य रामकुमार राई पासाङ र कोषका प्रतिनिधिलगायत ।
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नि पिडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोविन्द कट्वालको परिवारलाई १५ हजार आर्थिक सहयोग गरिएको हो ।
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषबाट १० हजार र प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामकुमार राई पासाङले ब्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । अग्नि पिडित परिवारलाई शनिबार घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरिएको कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिनुभयो ।
सहयोग रकम प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामकुमार राईले हस्तान्तरण गर्नुभएको थियो । गत साउन ७ गते दिउँसो करिब ५ बजेको समयमा मिटर बक्सबाट विधुत सर्ट भई आगलागी हुँदा कटवालको घर पुर्णरुपमा क्षेत्ति भएको छ ।
आगालागीका कारण बिचल्नीमा परेका कट्वाल परिवारलाई सोही दिन नेपाल कम्युनिस्ट पार्टी नगर कमिटी दिक्तेलले फाईबर सिरक ५ थान, फाईबर सिरानी १० थान, डस्ना ५ थान, तन्ना र तकिया ५ थान, म्याट ३० मिटर, चामल ४ बोरा, दाल १० केजी, चिउरा १० केजी, बिस्कुट एक काटुन र तेल एक काटुन सहयोग गरेका थिए ।
आगलागीबाट भाडावर्तन, लत्ताकपडा, काठपात जल्दा करीव ४० लाखको क्षति भएको थियो । अग्नि पिडित कटवालको परिवार हाल जलेको घरको भुईतलाको किचनमा कष्टपुर्ण तरिकाले बसिरहेका छन ।