Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्गदुस्थित वाणिज्य दूतावास छोडे

    अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्गदुस्थित वाणिज्य दूतावास छोडे


    • सोमवार, श्रावण १२ २०७७

    • नेपाल वाइड


    अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्गदुस्थित वाणिज्य दूतावास छोडे

           कूटनीतिक चिह्न हटाउँदै एक कर्मचारी

           अमेरिकी कूटनीतिज्ञहरूले चीनको दक्षिण-पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन् । चीनले गत साता सोमवारसम्म अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न निर्देशन दिएको थियो। सो निर्देशन अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप दिइएको हो।

             सोमवार कर्मचारीहरूले बक्स फाइल र फोहोर राखिएका झोला बोकेको देखिएको थियो भने त्यहाँस्थित अमेरिकी झण्डा झिकिएको छ। अमेरिकी विदेश मन्त्रालयमा एक प्रवक्ताले 'तिब्बत लगायत पश्चिमी चीनको नागरिकहरूसँगको सम्बन्धका बीच ३५ वर्ष वाणिज्य दूतावास उभिएको' बताउँदै चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयले अमेरिका दुखी भएको बताएका छन् ।

             वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड छ। उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेका छन् । उता अमेरिकामा चिनियाँ कूटनीतिज्ञहरूलाई दिइएको ७२ घण्टे म्याद शुक्रवार सकिएपछि अमेरिकी अधिकारीहरूले वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएको संवाददाताहरूले देखेका थिए ।

           बेइजिङले "बौद्धिक सम्पत्ति चोर्नका लागि" आफ्नो वाणिज्य दूतावासको प्रयोग गरिरहेकोले बन्द गराउने आदेश दिइएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी कदम "चीनविरोधी झूटहरूको मिश्रण" भएको प्रतिक्रिया दिए।चीनसँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ।

          अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिँदै गरेका र कर्मचारीहरूले कूटनीतिक चिह्नहरू हटाइरहेका तस्वीर चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएका थिए। अप्रिय घटना नहोस् भनेर वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटिएका थिए । रमिता हेरिरहेका मानिसहरूलाई उनीहरूले हट्न भनिरहेका थिए।

           यद्यपि वाणिज्य दूतावासबाट एउटा बस बाहिरिँदा मानिसहरूले गिज्याइरहेको आवाज सुनिएको समाचार संस्था एएफपीले जनाएको थिए । गत हप्ता ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासबाट चीनका कूटनीतिज्ञहरू बाहिरिँदा प्रदर्शनकारीहरूले उनीहरूलाई गिज्याएका थिए ।

          सन् १९८५ मा स्थापित चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासमा दुई सयभन्दा बढी स्थानीय कर्मचारी नै कार्यरत थिए । चङ्गदुस्थित वाणिज्य दूतावास बन्द भएपछि चिनियाँ मुख्य भूभागमा चारवटा अमेरिकी वाणिज्य दूतावास र बेइजिङस्थित दूतावास बाँकी रहनेछ ।

           विगतमा ब्रिटेनको उपनिवेश रहेको हङ्कङमा पनि अमेरिकी वाणिज्य दूतावास रहेको छ। गत हप्ता टेक्ससको ह्युस्टनस्थित वाणिज्य दूतावास बन्द गराइएपछि अमेरिकामा चीनका चारवटा वाणिज्य दूतावास र वाशिङ्गटन डीसीमा दूतावास बाँकी रहेको विविसिले उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार