Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मलेसियाको पूर्व प्रधानमन्त्री रजाकमाथि अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर

    मलेसियाको पूर्व प्रधानमन्त्री रजाकमाथि अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर


    • मंगलवार, श्रावण १३ २०७७

    • नेपाल वाइड


    मलेसियाको पूर्व प्रधानमन्त्री रजाकमाथि अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर

             मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । अदालतको उक्त फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु पर्नेछ । 

             मलेसियाको यस लगानी परियोजनाबाट भएका रियल स्टेटदेखि बहुमूल्य कलासामग्रीको खरिदमा अर्बौं डलर घोटाला भएको अदालतले ठहर गरेको छ । उक्त भ्रष्टाचारकाण्ड सार्वजनिक भएसँगै नजिबको सत्तारुढ पार्टी सन् २०१८ को आमचुनावमा पराजित भएको थियो । चुनावमा सत्तारुढ दल पराजित भएसँगै त्यसका दर्जनौं नेता गिरफ्तारीमा परेका थिए ।

           नजिबमाथिको पछिल्लो फैसलाले मलेसियाको कानुनी शासनको परीक्षण पनि गरेको छ । तर मलेसियाको राजनीतिक वृत्तमा अस्थिरता आएसँगै अहिले नजिबको पार्टी पुनः गठबन्धन सरकारमा सामेल भएको छ ।

            नजिबले वान–एमडीबीसँग सम्बन्धित धेरैवटा मुद्दा खेपिसक्नु भएको छ । तीमध्ये एउटा मुद्दा करिब १६ महिनाअघि शुरु भएको थियो । यो मुद्दा मुख्यरुपमा करिब ९९ लाख अमेरिकी डलर वान–एमडीबीबाट नजिबको व्यक्तिगत बैंक खातामा जम्मा भएको विषयसँग सम्बन्धित छ ।

            तर ६७ वर्षीय नजिबले आफूले कुनै गलत नगरेको लगातार दाबी गर्दै आएका छन् । तर न्यायाधीश मोहमद नजलान मोहमद घजालीले नजिबका वकीलले प्रस्तुत गरेका सबै तर्कलाई खारेज गर्दै नजिबमाथि सातवटा अभियोगमा दोषी ठहर गरिएको फैसला गरेका छन् ।

           क्वालालम्पुर उच्च अदालतका न्यायाधीश घजालीले अदालतको फैसला सुनाउँदै भने, “निचोडमा, यस मुद्दासँग जोडिएका सबै प्रमाणहरुमाथि विचार गर्दा मुद्दाका प्रतिवादी नजिब दोषी छन् ।”

           अदालतमा फैसला सुनाउँदा नजिब शान्त देखिएका थिए । अदालतबाहिर भेला भएका सयौं क्रुद्ध समर्थकहरुले नजिबमाथि अन्याय भएको भन्दै नाराबाजी गरेका थिए ।

    सम्बन्धित समाचार