Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल भर्ना

    वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल भर्ना


    • बुधवार, श्रावण १४ २०७७

    • नेपाल वाइड


    वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल भर्ना

            रुखबाट लडेर वर्षदिनदेखि ओछ्यानमा थलिएकी चिनामायाँ अधिकारी ।

     वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल भर्ना गरिएको छ । डाले घाँस काट्नेक्रममा रुखबाट लडेर ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई वर्ष दिनपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो ।

            रुखबाट लडेपछि ओछ्यानमा मुढो लडाएझैं सुतेकोसुतै हुने, तल्लो पेट बेसरी दुख्ने र खाना खाए लगत्तै वान्ता हुने समस्याबाट थलिएकी चिनामायाँलाई हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको पहलमा मंगलबार साँझ टिचिङ अस्पताल भर्ना गरिएको हो ।
    सालचौतारा–ओफ्लाङ–राईघाट सडक अनुगमनमा गएकोबेला नाजुक अवस्थाकी चिनामायाँलाई भेटेर फर्किएको केही समयपछि उपमेयर राईले व्यक्तीगत खर्चमा जीप रिजर्भ गरेर अस्पताल पठाएकी हुन् ।

            ‘१९ वर्षपछि ओफ्लाङ पुग्दा चिनामायाँलाई दर्दनाक अवस्थामा भेटेँ । उसको अवस्था देखेर म आफै छक्क परेँ,’ उपमेयर राईले भनिन्, ‘परिवारलाई उपचारमा लैजानु, सकेको सहयोग गर्छु भनेको थिएँ । पछि उपचारमा लैजाने भएपछि सहयोग गरेको हुँ । उपचार सफल हुने रहेछ भने अरु सहयोग गर्नुपर्छ । सहयोगका लागि साथीभाईलाई पनि गुहारिरहेको छु ।’

           चिनामायाँ २०७६ साल असार २१ गते रुखबाट लडेकी थिइन । लडेर घाईते भएपछि उनलाई बीर अस्पतालसम्म लगियो, बीर अस्पतालले न्यूरोमा रेफर गरेको थियो । तर आर्थिक अवस्थाका कारण उनलाई आफन्तले घर फर्काएपछि उनी ओछ्यानमा कष्टपूर्ण दिन विताउन बाध्य बनिन् । रुखबाट लडेको तीन महिनासम्म उनको बोली आएन ।

            हाल मानसिक अवस्था सामान्य भए पनि उनी आफै ओल्टोकोल्टो फर्कन सक्दैनन् । ओछ्यानमा उनका हातखुट्टा चलमलाउँछन् । हातखुट्टा तन्काउन सक्छन्, खुम्च्याउन सक्छन् तर आफै केही गर्न सक्दिनन् । खाना खान मन गर्छिन् तर निल्न सक्दिनन् । खाना निले लगत्तै वान्ता गर्छिन् । थोरै रस मात्र निल्न सक्छिन् । उनको शरीर सुकेर हाड र छाला मात्र बाँकी रहेको छ । लडेर ओछ्यान परेका कारण चिनामायाँको कक्षा १० को पढाई समेत रोकिएको छ ।
    चिनामायाँ आमा, दाजु, भाउजुसँग बस्छिन् । बुवाले दोश्रो विवाह गरेर छुट्टै घरजम गरिरहेका छन् । चौबिसै घण्टा ओछ्यानमा सुतेर दिन कटाइरहेकी चिनामायाँले पटक–पटक उपचारमा लैजान परिवारलाई आग्रह गर्ने गरेकी थिईन् । ‘पहिला पनि उपचारमा लगेको रहेछ तर उपचार नहुँदै घर ल्याइएको रहेछ,’ उपमेयर राईले भनिन्, ‘चिनामायाँले उपचारमा लैजाऔं, मरेँ भने बाटैमा फाल, मलाई यसरी ओछ्यानमा विजोग पारे नसुताऔ भन्ने गरेकी रहिछन् । त्यही भएर पनि एक पटक उपचारमा लैजानका लागि सल्लाह दिएको थिएँ ।’
    नाजुक अवस्थामा अस्पतालमा पुर्‍याइएकी चिनामायाँको स्वास्थ्यमा सुधार हुने/नहुने टुंगाले लागेको छैन । बुधबारदेखि आइसियूमा राखेर उनको उपचार सुरु गर्ने तयारी भइरहेको फुपाजु सुर्ज अधिकारीले बताउनुभयो ।

    resqued woman from dikuwa (chinamaya) photo nepalwide.jpg

    वर्षदिनदेखि ओछ्यानमा थलिएकी चिनामायाँ अधिकारीलाई अस्पताल लैजान जीपमा चढाउँदै उपमेयर बिमला राई लगायत । 

    सम्बन्धित समाचार