बिहिवार, श्रावण १५ २०७७
नेपाल वाइड
अख्तियारको नियन्त्रणमा परेका जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेलका प्रमुख नारायणकाजी श्रेष्ठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पक्राउ परेका जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्वन्धी आरोप–पत्र दायर गरेको छ ।
जिल्लाकै एक निर्माणाधिन सिँचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीको आधारमा गत असार ३० गते मंगलबार डिभिजन प्रमुख श्रेष्ठलाई नियन्त्रणमा लिएको अख्तियारले बुधबार उनी बिरुद्ध विशेष अदालत काठ्माण्डौंमा भ्रष्टाचार गरेको सम्वन्धी आरोप–पत्र दायर गरेको हो ।
ठेक्काको दोश्रो रनिङ बिल भुक्तानीका लागि रकमको अभाव भएको र भुक्तानी अंकको १० प्रतिशतले हुने रकम दिए मात्र छिटो निकासा दिन सकिने भन्दै सेवाग्राहीबाट घुसररिसवत मागेर लिएको पुष्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार सम्वन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।
डिभिजन प्रमुख श्रेष्ठलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिएको अवस्थामा काठ्माण्डौंबाट आएको अख्तियारको टोलीले ‘स्टीङ अपरेसन’ गरेर नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएको देखिएकाले डिभिजन प्रमुख श्रेष्ठलाई ९ लाख ३४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुने मागदाबी लिई भ्रष्टाचार गरेको सम्वन्धी आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
डिभिजन प्रमुख श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ । श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राही अख्तियारमै उजुरी दिन पुगेको जनाइएको छ ।