Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि

    वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि


    • बिहिवार, श्रावण १५ २०७७

    • नेपाल वाइड


    वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि

           वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं आएका उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । बिहीबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो। उनी हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा बसिरहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । 

    सरावगीले आफ्नो फेसबुकमा पनि आफू संक्रमित भएको जानकारी गराएका छन् । उनले फेसबुकमा नागरिकको सेवामा जुटिरहँदा आफूलाई संक्रमण भएको भन्दै सचेत रहन आग्रह पनि गरेका छन् । उनले अब कोरोना नियन्त्रण स्थानीय सरकारको पहलले मात्र नहुने भन्दै वीरगञ्जवासीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गरेका छन् ।

    मेयर विजय सरावगीले फेसबुकमा यस्तो लेखेका छन-

    आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।

    विगत पाँच महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई बचाउन मैले हर सम्भव प्रयासहरु गरेँ।

    संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरेँ।

    वीरगंजलाई बचाउन पीसीआर मेसिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरेँ ।

    क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरुसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको व्यवस्था मिलाएँ। वीरगंजलाई ग्रीन जोन बनाउने उद्देश्यका साथ एकघर एक परीक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ ।

    तपाँहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।

    पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त बनेको छ, वीरगंजलाई बचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।

    अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाइ, दिदी-बहिनीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गर्दछु ।

    साथै कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई- दिदी बहिनीमा अपिल गर्दछु ।  कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीतिप्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाइँ जितेर पुन: तपाइँको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।

    सम्बन्धित समाचार