Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति ट्रम्पको सुझाव खारेज

    नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति ट्रम्पको सुझाव खारेज


    • शुक्रवार, श्रावण १६ २०७७

    • नेपाल वाइड


    नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति ट्रम्पको सुझाव खारेज

              वरिष्ठ रिपब्लिकन नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका छन् । ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने बताएपछि उनीहरूको प्रतिक्रिया आएको हो । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरे । चुनाव स्थगित गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पमा छैन। चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ । 

                 यसअघि राष्ट्रपति ट्रम्पले हुलाकमार्फत्‌ गरिने बढ्दो मतदानले धाँधली निम्त्याउने सक्ने र गलत नतिजा आउन सक्ने बताएका थिए । मानिसहरूले "ठीक र सुरक्षित ढङ्गले" मतदान गर्न सक्ने कुराको सुनिश्चतता नभएसम्मका लागि चुनाव सार्ने विचार ट्रम्पले व्यक्त गरेका थिए । 

              ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने, "म त्रुटिपूर्ण चुनाव भएको हेर्न चाहँदिनँ । यदि यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुनेछ ।" राष्ट्रपति ट्रम्पका दाबीहरूलाई बल पुर्‍याउने एकदमै न्यून प्रमाण छ। तर लामो समयदेखि उनी हुलाकमार्फत् गरिने मतदानविरुद्ध उभिँदै आएका छन् । कोरोनाभाइरस महामारीबीच अमेरिकी राज्यहरू जनस्वास्थ्यलाई ध्यानमा राख्दै हुलाकमार्फत् गरिने मतदानलाई अझ सहज बनाउन चाहन्छन् ।

            सिनेटर मककोनेलले इतिहासमा हालसम्म राष्ट्रपतीय चुनावमा ढिलाइ नगरिएको बताए । नेताद्वय मककोनेल र मकार्थी दुवैले अमेरिकी इतिहासमा निर्धारित समयभन्दा चुनावलाई कहिल्यै नसारिएको बताए । ट्रम्पका साझेदार रहेका अर्का सिनेटर लिन्ड्से ग्राहमले चुनावमा ढिलाइ गर्ने विचार राम्रो नभएको टिप्पणी गरे । यसैबीच, पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिकी लोकतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् ।

    ट्रम्पले चुनावमा ढिलाइ गर्न सुझाव दिएको केही घण्टापछि ओबामाको अभिव्यक्ति सार्वजनिक भएको हो ।

    सम्बन्धित समाचार