शुक्रवार, श्रावण १६ २०७७
नेपाल वाइड
सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपालका पदाधिकारी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)का शिक्षक तथा प्रशिक्षकहरुको संगठन सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन गरिएको छ । नेपालभरका सिटिइभिटीका शिक्षक र प्रशिक्षकलाई संगठित गर्दै आफ्नो पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउने लगायतका उद्धेश्य सहित डा.सीके सिंहको अध्यक्षतामा १५ सदस्यीय सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन गरिएको हो ।
सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपालको उपाध्यक्षमा सञ्जय बस्नेत, महासचिवमा राजन मानन्धर, सचिवमा जीतबहादुर बस्नेत, कोषाध्यक्षमा लिनु थापा र सह–कोषाध्यक्षमा मोनिका श्रेष्ठ चयन भएका छन् । सदस्यमा सुजाता खड्का, शोभा हुमागाइ, दिपेश लामा, सुवर्ण बुढाथोकी, विष्णुप्रसाद कँडेल, नुमकान्त पराजुली, कल्पना बस्याल, जगन्नाथप्रसाद शाह र अनुराज अनु रहेका छन् ।
नेपालभरीका सिटिइभिटीका शिक्षक तथा प्रशिक्षकलाई संगठित गरी तिनीहरुको पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउने, सम्मानजनक र सन्तोषजनक काम गर्ने वातावरण निर्माण गर्दै हकहितको संरक्षण र संवद्र्धन गर्न भूमिका निर्वाह गर्ने, शिक्षक तथा प्रशिक्षकको जीवनमा सफलता र पेशामा सन्तुष्टि प्राप्त गर्न ज्ञान, शिप र क्षमताको विकास गरी प्राविधिक शिक्षा र शिक्षक पेशालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मर्यादित र गतिशील बनाउन पहल गर्ने, शिक्षक तथा प्रशिक्षकको समग्र विकाससँग सम्बद्ध सरकारी, निजी तथा गैर–सरकारी संघसंस्था तथा निकायलाई नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन तथा मूल्यांकन सम्बन्धी विषयमा सल्लाह–सुझाव दिने, सहयोग गर्ने र समन्वय गर्ने, प्राबिधिक शिक्षालाई दिशा निर्देश गर्न, शिक्षक तथा प्रशिक्षकको दायित्व पूरा गर्न र प्राबिधिक सेवाको पहुँच बढाउन शिक्षण पेशा सम्बन्धी सवालमा पैरबी गर्ने र अध्ययन–अनुसन्धान गर्ने लगायतका लक्ष्य निर्धारण गरिएको सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपालले जनाएको छ ।
यस्तै, सिटिइभिटीमा अध्यनरत बिद्यार्थीको हक हितका लागि पहल गर्ने, विद्यार्थी, अभिभावक, शिक्षाविद, समाजसेवी तथा संघसंस्थासँग दृष्टि र दर्शनमा सहकार्य, विचार तथा अनुभवको आदन प्रदान गर्ने लगायतका १४ बुँदे लक्ष्य निर्धारण गरिएको जनाइएको छ । काठ्माण्डौंमा केन्द्रिय कार्यालय रहने सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपालले क्रमशः प्रदेशदेखि स्थानीय स्तरका प्राविधिक शिक्षालयसम्म संगठन विस्तार गर्ने जनाएको छ ।