आइतवार, श्रावण १८ २०७७
नेपाल वाइड
खार्मीका स्थानीयले निर्माण गरेको कांसाहोप तालमा डुंगा शयर गर्दै स्थानीय ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले बनाएको कांसाहोप तालमा व्यवसायीकरुपमा डुंगा सञ्चालनमा ल्याइएको छ । लकडाउनकैबीचमा खार्मीका २२ घर स्थानीयले भंगेटारमा निर्माण गरेको कांसाहोप तालमा व्यवसायीकरुपमा काठको डुंगा सञ्चालनमा ल्याइएको हो ।
प्रतिव्यक्ती ५० रुपैयाँ शुल्कमा २० मिनेट शयर गर्न सकिने व्यवस्था सहित आईतबारदेखि व्यवसायीकरुपमा डुंगा सञ्चालनमा ल्याइएको ताल निर्माण उपभोक्ता समितिका सचिव दिपककुमार तामाङले बताउनुभयो ।
मानव निर्मित कृत्रिम तालमा आठ सयमा रिजर्भ गरेर एक घण्टासम्म शयर गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय काठबाट बनाइएको डुंगामा एक पटकमा आठ जनाले शयर गर्न सक्ने समितिले जनाएको छ ।
कांसाहोप तालमा डुंगाको सफल परिक्षण गरिएको केही समयपछि व्यवसायीकरुपमा सञ्चालन सुरु गरिएको सचिव तामाङले बताउनुभयो । कांसाहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यवसायीकरुपमा डुंगा सञ्चालनमा ल्याइएको हो । ‘ताल बनाएर डुंगाको सफल परिक्षण गरियो,’ सचिव तामाङले भने, ‘प्रतिव्यक्ती शुल्क लिएर तालमा शयर गर्न सकिन्छ । रिजर्भ गरेर पनि तालमा रमाईलो गर्न सकिन्छ ।’
कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् । जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाई गर्न मिल्नेगरी निर्माण गरिएको एल आकारको ताललाई डुंगा शैर गर्ने स्थलकोरुपमा समेत उपयोग सुरु गरिएको सचिव तामाङले बताउनुभयो ।

काठद्धारा निर्मित डुंगा पोखरीतर्फ लैजादै स्थानियबासीहरु
नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई लकडाउनकैबेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो । तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ ।
तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाइै ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन् । ‘त्यहाँ सानो खाल्डो थियो । मेसिन लगाएर खाल्डोलाई फराकिलो बनाइएको हो ।
ताल बनाउनका लागि हामीले चन्दा उठायौँ, श्रमदान गरेका छौँ,’ तामाङले भने, ‘यस ठाउँको पर्यटन प्रवद्र्धनकै लागि हामीले ताल बनाएका हौँ । जमिनमा रिचार्जको काम गर्ने तालको पानी तल्लो क्षेत्रमा सिँचाई गर्न समेत उपयोग गर्न सकिने छ ।’ टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदु खोलाको पानी पनि ल्याएर हालिएको छ ।
कांसाहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ । सो स्थानबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिने तामाङले बताउनुभयाे ।
बाँझोबारीबाट सिधै कांसाहोप ताल पुग्ने छोटो दुरीको सडक निर्माण गर्न सके बाँझोबारी र कांसाहोपको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीयको अपेक्षा छ । बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने तामाङले बताउनुभयो ।
ताल निर्माणकाक्रममा संकलन गरिएको रकममध्ये २ लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सह–चालक तथा श्रमदानमा सहभागी स्थानीयको खाना, खाजामा खर्च गरिएको उपभोक्ता समितिले जनाएको छ ।