Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘व्यान्ड होईन ब्राण्ड’

    बुइपामा आल्चाको तीनपाने ‘ब्राण्ड’

    बुइपामा आल्चाको तीनपाने ‘ब्राण्ड’


    • सोमवार, श्रावण १९ २०७७

    • नेपाल वाइड


    बुइपामा आल्चाको तीनपाने ‘ब्राण्ड’

     होटलमा आयतीत रक्सीसँगै राखिएको आल्चाको रक्सी हेर्दै बुईपाका वडाध्यक्ष दिनेश राई

             अहिले जनजाती समुदायमा लोकल रक्सी उत्पादन र त्यसको औधोगीकरणको चर्चा चलिरहेको छ । लोकल रक्सीलाई वैधता दिइनुपर्ने विषयमा माग समेत उठाउन थालिएको छ । लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि किरात राई यायोक्खा खोटाङले साउन १६ गते प्रधानमन्त्रीलाई एक टुक्से रक्सीसहित ज्ञापन–पत्र पठाए ।

             यस्तै, प्रदेश नम्बर १ को संसदमा विनियोजन विधेयकमाथिको छलफलकाक्रममा गत असार १५ गते रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन आवाज उठाएकी प्रदेशसभा सांसद उषाकला राई सो अभियानलाई जारी राखेकी छन् । तर कानूनी अडचानका वावजुद दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्थानीयले २०७६ सालदेखि नै व्यवसायीकरुपमा आल्चाको तीन पाने रक्सी उत्पादन गरिरहेका छन् ।

            छापगाउँ, फुलेली, गुरुङगाउँ र बुईपा बजार टोलमा उत्पादन हुने आल्चाबाट बोत्तलमा स्टीकर नै राखेर लोकल रक्सी उत्पादन थालिएको हो । वडा कार्यालयको पहलमा गत वर्ष वाइन उत्पादनको प्रयास गरिएकामा यस वर्ष तीन पाने रक्सी उत्पादन सुरु गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।

            छापगाउँ महिला वडा समितिले उत्पादन गरेको लोकल रक्सी पञ्चरदोबाटोमा बनाइएको संकलन केन्द्रमा ल्याएर जम्मा गर्ने र मागका आधारमा ग्राहकलाई उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । प्रगती टोल कृषक समुहमा आवद्ध किसानले पनि आल्चाको रक्सी उत्पादन गरिरहेको छ । बुईपामा आल्चाको पुरानो बोटबाटै वार्षिक पाँच टन आल्चा उत्पादन हुने गरेको छ । तर बजार भाउ नपाउँदा खेर गइरहेका आल्चालाई सदुपयोग गर्नका लागि लोकल रक्सी उत्पादन गर्न थालिएको हो ।

    Botaling local wine 1.jpg

            वाइन उत्पादनका लागि लाइसेन्स लिन खोज्दा झमेला भएपछि बिनालाइसेन्स नै रक्सी उत्पादनमा लागिएको वडाध्यक्ष राईले बताउनुभयो । ‘वाइनको लाइसेन्स लिने प्रयास गरियो तर सहज रहेन छ । त्यही भएर उत्पादन गर्दैगरौं, पछि कानूनी प्रकृया पुरा गरौंला भनेर आल्चाबाट रक्सी उत्पादन थालिएको हो,’ वडाध्यक्ष राईले भने, ‘गाउँघरमा रक्सी उत्पादन र बिक्रीवितरण भई नै रहेको विषय हो ।

             तर, यस पल्टदेखि उत्पादन गर्ने र एक ठाउँमा संकलन गरेर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो ।’ अन्य विदेसी रक्सी खुल्लामखुल्ला बिक्री वितरण हुँदा लोकल रक्सीमाथिको प्रतिवन्ध न्यायीक नभएको वडाध्यक्ष राईको भनाई छ ।

            आल्चा अधिक उत्पादन हुने बुईपालाई पकेट क्षेत्रकारुपमा बिकास गर्ने तयारी गरिएको छ । प्रदेश सरकारको सहयोगमा २० हजार बोट आल्चा लगाउने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो । आल्चाबाट वाईन, जाम र क्यान्डी उत्पादन गर्ने लक्ष्य छ ।

             यस वर्ष आल्चाका पाँच हजार विरुवा लगाउने तयारी गरिए पनि कोरोनाको कारण विरुवा रोप्ने कार्यक्रम पछि सरेको छ । ‘गत सालबाटै हामीले एक घरमा ५० बोट आल्चा लगाउने, सय बोटभन्दा बढि आल्चा लगाए प्रतिबोट सय रुपैयाँ दिने निर्णय नै गरिसकेका छौँ,’ राईले भने, ‘आल्चाको थप २० हजार बिरुवा लगाउने हाम्रो तयारी छ । कोरोनाले अशर परे पनि आल्चा बिस्तार अभियान क्रमशः अघि बढाइने छ ।’

             बुईपामा आल्चा बाहेक कोदो, लिची, चिउरी, कटहर, पुष्टकारीको रक्सी समेत उत्पादन गरेर संकलन केन्द्रमा पु¥याइने छ । संकलन केन्द्रमा सो क्षेत्रमा उत्पादित खाद्यान्न, तरकारी, फलफुललगायतका स्थानीय उत्पादनलाई समेत भण्डारण गर्ने व्यवस्था मिलाइएको वडा कार्यलयले जनाएको छ ।

             चाँडै सड्ने र गलेर जाने कृषि उपजलाई नजिकै बनाइएको कोल्डस्टोरमा राखिने वडाध्यक्ष राईले बताउनुभयो । ‘किसानले आ–आफ्नो उत्पादन संकलन केन्द्रमा ल्याउँछन्,’ वडाध्यक्ष राईले भने, ‘किसानले केही न केही फलाउनै पर्‍याे । त्यसको जिम्मा हामी लिन्छौँ । बिक्री गरेर बजारको सुनिश्चितता गरिदिन्छौँ ।’
    बुईपा बजारका हरेक पशलमा आयतीत सामानसँगै कम्तीमा एक वटा स्थानीय उत्पादन बिक्रीका लागि राख्ने सहमती समेत जुटाइएको वडाध्यक्ष राईले बताउनु्भयो ।

    Tinpane.jpg

    सम्बन्धित समाचार