आइतवार, श्रावण २५ २०७७
नेपाल वाइड
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ । चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
मेयर शेर्पाले भने ‘अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी गोठ पनि बाढीले बगायो । पछि बुझ्दै जाँदा चोकर्मा हिमताल फुटेको पाइयो’, । तालको एक छेउ मात्र फुटेकाले पानी आंशिक बग्दा खासै क्षति हुन नपाएको तर त्रास भने बढेको उनले बताए ।
पाँच हजारभन्दा बढीको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुनसक्ने उनको बताए । ‘आज म सहित प्रदेश सांसद् र सुरक्षाकर्मीको टोली तालको अवलोकनमा जाने तयारी गरेका छौँ ।
हेलिकप्टर पनि तयारी अवस्थामा छ तर, मौसम राम्रो नभएकाले रोकिएका छौँ । मौसम सफा भए हामी त्यहाँ पुग्छौ,’ मेयर शेर्पाले भने । चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ । सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको छ।