सोमवार, श्रावण २६ २०७७
नेपाल वाइड
होस गुमाएका रोहनको उपचारका लागि आमा हिरा कट्वाललाई सहयोग प्रदान गर्दै अपांग सेवा संघका पदाधिकारी ।
लडेको अशरका कारण मानसिक सन्तुलन गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९ वर्षीय रोहन कट्वालको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । २०७२ साल भदौमा विद्यालय गएको अवस्थामा लडेको चोटका कारण मानसिक सन्तुलन गुमाएका रोहनको उपचारमा आर्थिक समस्या भएको पाइएपछि उपचार सहयोग जुटाउन थालिएको हो ।
अपांग सेवा संघ खोटाङ र अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्य समितिको संयुक्त पहलमा आईतबार रोहनको उपचारका लागि १७ हजार ४७५ रुपैयाँ प्रदान गरिएको छ ।
अपांग सेवा संघमै आवद्ध पदाधिकारी एबं अन्य शुभेच्छुकबाट संकलन भएको रकम खोटाङखबर साप्ताहिकको कार्यालयमा अपांग सेवा संघका जिल्ला अध्यक्ष पृथीकुमार तामाङ र संघका नगर समिति अध्यक्ष उमेशचन्द्र राईले रोहनकी आमा हिरा कट्वाललाई हस्तान्तरण गरेका छन् ।
पहिलो चरणमा संघका जिल्ला अध्यक्ष तामाङबाट २ हजार २५०, नगर समितिका अध्यक्ष आचार्यबाट २ हजार ५५०, राजनप्रसाद आचार्यबाट २ हजार २६५, शारदाप्रसाद ढकालबाट २ हजार ५ सय, प्रेमगीता बस्नेतबाट २ हजार २३५, जयनारायण कट्वालबाट २ हजार १११, भवप्रसाद आचार्यबाट ५ सय, शालिग्राम शर्मा पौडेलबाट १ हजार ५ र दिलीप खत्रीबाट २ हजार ५५ रुपैयाँ सहयोग उठाएर रोहन परिवारलाई प्रदान गरिएको संघले जनाएको छ ।
आवश्यक खर्च व्यवस्था गरेर रोहनको उपचारका लागि अपांग सेवा संघ र अपांग सेवा संघ नगर कार्य समितिले सहयोग अभियान थालेको हो । रोहनलाई सहयोग गर्नका लागि आमा हिरा कट्वालको नाममा सेञ्चुरी विकास बैंक दिक्तेल शाखामा खोलिएको ०१५००००९२ सि ५ मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ ।
बेहोसीमा चलमलाउँछन् रोहन
रोहन अहिले बेहोसीमा यताउती कुदिरहन्छन् । घरभित्रबाट घरी आँगनमा पुग्छन्, घरी घरको पेटीमा पुग्छन् । उनले उताउती कुद्नेक्रममा एक तमासले बोलेको बोली बुझ्न सकिन्न । अरुले बोलेको कुरा पनि उनले बुझ्न सक्दैनन् । किताव कापी बोकेर स्कुल गइरहनुपर्ने उमेरमा रोहनको अवस्था दर्दनाक छ ।

होस गुमाएका छोरालाई सम्हाल्दै हिरा कट्वाल
आमा हिरा कट्वालका अनुशार केही उपचारपछि रोहनको स्वास्थ्यमा सामान्य सुधार आएको हो । होसले पूर्णरुपमा काम गर्न छाडिसकेको र बोली बन्द भइसकेको अवस्थामा अपांग सेवा संघ नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा २०७६ साल माघ ९ गते मोडेल अस्पतालमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुःन उठेर बेहोसीमा हिँडडुल गर्न सक्ने भएका हुन् । रोहनलाई भारत लैजान सल्लाह दिइए पनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा लैजान नसकेको आमा हिराले बताईन् ।
रोहन कक्षा १ मा घरभन्दा तलको वालज्योती प्राविमा पढ्थे । एक दिन उनी चिच्याएर रोएको सुनिएपछि आमा हिरा कुद्दै विद्यालयतर्फ गईन् । विद्यालयभन्दा केही माथि रोहन टाउकाको देब्रेपट्टि र चिउँडोमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा फेला परे । आमा हिराले उनलाई तत्काल जिल्ला अस्पताल पुर्याईन्, चोटमा औषधोउपचार भए । तर २०७२ साल मंसिरदेखि रोहनमा बसेकै ठाउँमा भ्वाक्क–भ्वाक्क ढल्ने समस्या देखियो ।
अकस्मात ढल्दा उनको टाउकाका विभिन्न ठाउँमा घाउ चोटपटक थपिए । ढल्ने समस्या देखिएको १०÷१५ दिनमा रोहनलाई कान्ती वाल अस्पताल पुर्याइए । कान्तीले सिफारिस गरेको औषधि ६ महिना खुवाउँदा पनि रोहनको स्वास्थ्यमा सुधार देखिएन ।
उपचारकै खोजीमा उनलाई निसान अस्पतालमा लगिए, निसानले पनि कान्तीले सिफारिस गरेकै औषधिलाई निरन्तरता दिन भने । त्यसपछि हिराले रोहनलाई ओम अस्पतालमा लगिन् । ओमले दिएको औषधि ६ महिना खुवाउँदा निको हुनुको सट्टा शरीरभरी रौं पलाए । यसबीचमा रोहनको अवस्था झनै नाजुक बनिसकेको थियो । बोली बन्द भइसकेको थियो, होसले पूर्णरुपमा काम गर्न छाडिसकेको थियो ।
सुन्दर ढोका साथी सेवाको साथ
दुई वर्षअघि रोहनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगियो । न्यूरोको उपचारपछि रोहनको अवस्थामा सामान्य सुधार आयो । ६ महिनासम्म औषधि खुवाउँदा रोहनको बोली आयो तर पुरानो कुरा सबै भुले । अरुले ‘जे भन्यो त्यही’ उच्चारण गर्न थाले । रोहनको स्वास्थ्यमा सामान्य सुधार देखिए पनि आर्थिक समस्याका कारण हिरा थप औषधिका लागि काठ्माण्डौं जान सकिनन् ।
औषधि छुटेपछि रोहनमा विगत वर्ष दिनदेखि झोक्रिरहने, खुट्टा लुलो हुने, मुन्टो नउठाउने, उठ्न नसक्दा चौबिसै घण्टा सुतिरहने समस्या देखा पर्याे । खाना खुवाउँदा ननिल्ने, खाना खुवाएको थाहै नपाउने, पानीसँग खाना खुवाउनुपर्ने, दिसापिसाव आएको थाहै नपाउने समस्यासँग जुधिरहेको समयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा रोहनलाई मोडेल अस्पतालमा पु¥याइएको अपांग सेवा संघ नगर समितिका अध्यक्ष आचार्यले बताउनुभयाे ।
होस फिर्ने आशामा परिवार
रोहनको नाजुक स्वास्थ्य अवस्थाले परिवार मानसिक चिन्तामा छन् । रोहनलाई भारत लैजान सल्लाह आएपनि निम्न आर्थिक अवस्था भएकै कारण उपचारमा लैजान नसकेको हिराले बताईन् । शुभेच्छुकको सहयोग मिले र उपचार सफल भए रोहनको स्वास्थ्यमा सुधार आउने उनको अपेक्षा छ । थप उपचारका लागि सहयोगीको खोजी गरिरहेको हिराले बताईन् । ‘छोरा पहिलाकैजस्तो निको होस्, स्कुल जाओस् भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘साथ सहयोग मिलेर उपचार गराउन सम्भव भए पक्कै सुधार हुन्छ भन्ने आशा छ ।’
२०७१ सालमा बिदेश गएका श्रीमान गोबिन्द कट्वाल २०७६ साल बैसाखमा घर आए पनि पुःन काठ्माण्डौं फर्किएर सम्पर्क बिहिन बनेको हिराले गुनासो गरिन् । हाल उनी दुई छोरासहित सासुससुरासँग बसिरहेका छन् । उनका कान्छो छोरा कक्षा २ मा पढ्छन् ।