मंगलवार, श्रावण २७ २०७७
नेपाल वाइड
दुबै मिर्गौला फेल भएका सरिता तामाङ र उच्च रक्तचापको समस्याबाट पिडित जयप्रकाश सुवेदी
दिप्रुङ चुईचुम्मा एकता सेवा समाज काठ्माण्डौंले एक जना मिर्गौला र एक जना उच्च रक्तचापको समस्याबाट पिडित बिरामीको सहयोगार्थ अभियान चलाएको छ । समाजले दुबै मिर्गौला फेल भएपछि हाल उपचाररत खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुकी ३७ वर्षीय सरिता तामाङ र उच्च रक्तचापको समस्याबाट पिडित दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोदय आधारभुत बिद्यालयका शिक्षक जयप्रकाश सुवेदीको सहयोगार्थ अभियान थालेको हो ।
दुबै जनाको आफ्नो उपचार गर्ने आर्थिक अवस्था नभएकाले ‘रोगी, गरिब, असाहाय तथा दिनदुःखीको साहरा दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको अभिभारा’ भन्ने नाराका साथ सहयोग अभियान थालिएको हो ।
सरिताको मिर्गौला प्रत्यारोपणका लागि दाता तयार भए पनि प्रत्यारोपणकाक्रममा चाहिने आर्थिक अभाव भएकाले सहयोग अभियान चलाइएको दिप्रुङ चुईचुम्मा एकता सेवा समाजका सचिव नवराज रोकाले बताउनुभयो । मिर्गौलाको उपचारकाक्रममा घरजग्गा समेत सकिएपछि आफन्त तथा शुभेच्छुकबाट सहयोग जुटाएर ‘सरिता बचाउ’ अभियान थालिएको हो ।
दुबै मिर्गौलाले काम गर्न छाडेका सरिताको हाल टिचिङ अस्पताल काठ्माण्डौंमा उपचार भइरहेको छ । यस्तै, उच्च रक्तचापको समस्याबाट थलिएका सुवेदी पाँच महिना अघिदेखि टिचिङ अस्पतालमा उपचाररत छन् । सुवेदीको शल्यक्रीया गर्नुपर्ने भए पनि शल्यक्रीया गर्न आर्थिक अभाव भएकाले सहयोग अभियान थालिएको समाजका उपाध्यक्ष एलिना राईले बताईन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका घर भइ हाल काठ्माण्डौं लगायत देशका विभिन्न ठाउँमा बसिरहेका स्थानीयलाई संगठित गर्दै आपतविपदका समयमा पालिकाबासीलाई सहयोग गर्ने लक्ष्यकासाथ २०७६ सालमा स्थापित समाजले दुबै जना बिरामीलाई सहयोगका लागि याचना गरेको छ ।
मिर्गौला पिडित सरिता र उच्चरक्तचापको बिरामी जयप्रकाशको सहयोगका लागि दिप्रुङ चुईचुम्मा एकता सेवा समाज काठ्माण्डौंको नाममा प्रभु बैंक हात्तीगौंडा शाखा काठ्माण्डौंमा खोलिएको खाता नम्बर १०००१५०३१६७०००१५ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।