बुधवार, श्रावण २८ २०७७
नेपाल वाइड
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पठाइएका ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना प्रभावित क्षेत्रबाट नगरपालिका भित्रिएका शिक्षक, वैदेशिक रोजगारबाट फर्केर क्वारेन्टीनमा बसिरहेका स्थानीय एबं क्वारेन्टिनको सुरक्षामा खटिएका प्रहरीको स्वाव पिसिआर परिक्षणमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
जोखिम क्षेत्रबाट आएका ३४ जना शिक्षक, विभिन्न मुलुकबाट फर्किएर दिक्तेलस्थित सरस्वती माविको क्वारेन्टिनमा राखिएका २० जना स्थानीय तथा क्वारेन्टिनको सुरक्षामा खटिएका २ जना प्रहरीकोे स्वाव संकलन गरेर गत आईतबार परिक्षणमा पठाएकोमा बुधबार सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो ।
पिसिआर परिक्षणका लागि उनीहरुको स्वाव संकलन गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । लकडाउनका कारण बन्द बिद्यालय सुचारु गराउनका लागि जोखिम क्षेत्रबाट बोलाइएका शिक्षकको समेत पिसिआर परिक्षण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । पिसिआर रिपोर्ट नेगेटिभ आएका नागरिकलाई डिस्चार्ज दिने तयारी गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कोरोना संक्रमण पूष्टी भएका ६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हालसम्म हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना कोरोना संक्रमित पनि उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका २६ वर्षीय कोरोना संक्रमति पुरुष भने हाल उपचारमा छन् ।