शुक्रवार, श्रावण ३० २०७७
नेपाल वाइड
छलफलकाक्रममा किरात राई विद्यार्थी संघ केन्द्रीय समितिका पदाधिकारी । तस्बिर:नेपालवाइड
किरात राई विद्यार्थी संघ केन्दीय समितिले ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्ने तयारी गरेको छ । आगामी भदौ १७ गते पर्ने आफ्नो २२ औं स्थापना दिवसको अवशर पारेर संघले ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो ।
साउन २६ गते बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले स्थापना दिवसको अवशरमा ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्ने निर्णय गरिएको किरात राई विद्यार्थी संघले विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।
‘अनलाइन’ मार्फत हुने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त सहभागीलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार प्रदान गरिने किरात राई विद्यार्थी संघका महासचिव रविन राईले बताउनुभयो ।
कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण भेला, बैठक, छलफल गर्ने अवस्था नभएका कारण यसपल्ट अनलाइन बक्तृत्कला प्रतियोगिता गर्न लागिएको हो ।
संघका अनुशार प्रतियोगितामा सहभागी हुने विद्यार्थीले दिइएको शिर्षकमा आफ्नो धारणालाई भिडियो रेकर्ड गरेर पठाउनुपर्ने छ । भडियो १ टेकमा खिचिएको (सम्पादित नगरिएको) र बढीमा ५ मिनेटको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको महासचिव राईले बताउनुभयो ।
प्रतिष्पर्धीले इमेल वा फेसबुकमार्फत पठाएको भिडियोको विषयवस्तु र प्रस्तुतिकरणका आधारमा मुल्याकंन गरिने संघले जनाएको छ । ‘अनलाइन बक्तृत्वकला’मा सहभागी हुनेले भिडियो आगामी भदौ १३ गतेभित्र पठाइसक्नुपर्ने छ ।
कोरोनाको महामारीका कारण संघले भर्चुअल कार्यक्रम गरी स्थापना दिवस मनाउने व्यवस्थाका लागि जिल्ला कार्य समितिलाई पत्राचार गरेको जनाएको छ ।
हाल किरात राई विद्यार्थी संघले ‘मातृभाषामा शिक्षा अभियान’ सञ्चाल गरिरहेको छ । मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा ब्यबस्था भए पनि कार्यन्वयनको अवस्था फितलो देखिएको संघका अध्यक्ष जीतेन राईले बताउनुभयो ।