शनिवार, श्रावण ३१ २०७७
नेपाल वाइड
सरुवा भएर खोटाङ आएका ६ जना प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । बिराटनगरबाट साउन २३ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जवानमध्ये ६ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो ।
कोरोना संक्रमण भएको मौखिक जानकारीका आधारमा उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा लगेर राखिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएको घोषणा गर्न बाँकी छ । प्रहरी जवानलाई हाजिर हुन आए लगत्तै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा राखिएको थियो ।
संक्रमण देखिएका ६ जनासँगै राखिएका अन्य दुई जवानलाई थप समयका लागि क्वारेन्टीनमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । उनीहरुको साउन २७ गते स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको थियो ।
अन्यत्रबाट आएका जवानलाई क्वारेन्टीनमा राखेर पिसिआर परिक्षण गरेर मात्र ड्यूटीमा खटाउने गरिएकाले अन्य जवानलाई ‘रिस्क’ नभएको डिएसपी चिमोरियाले बताउनुभयाे ।
जिल्लाका १३ जनालाई कोरोना संक्रमण भइरहेको अवस्थामा एकैसाथ ६ जना प्रहरी जवानलाई संक्रमण भएको पूष्टी भएको हो । संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका २६ वर्षीय संक्रमित युवा भने हाल उपचारमा छन् ।