शनिवार, श्रावण ३१ २०७७
नेपाल वाइड
रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको एउटा नयाँ खोपको उत्पादन सुरु गरेको जनाएको छ । यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका थिए ।
विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो । दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई "एकदमै आधारहीन" भनेको थियो ।
गत मङ्गलवार रुसी नियामकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको जनाएको थियो । ठूलो स्तरमा मानिसहरूमा परीक्षण गर्न बाँकी भए पनि रुसले उक्त खोपको प्रयोगलाई स्वीकृति दिएको बताइएको छ ।
रुसले बनाएको खोपलाई लिएर खासगरी अमेरिका र युरोपमा प्रश्नहरू उठिरहेका छन् । यद्यपि केही देशले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले स्वयंले रुसी खोपको परीक्षण गर्ने बताएका छन् भने इजरेलले उत्पादन भएमा खरिदका लागि सम्झौता गर्ने जनाइसकेको विविसिले जनाएकाे छ।