आइतवार, श्रावण ३२ २०७७
नेपाल वाइड
खोटाङको साकेला गाउँपालिकाले स्थानीय खोलाबाट मनोमानीढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ । स्थानीय साप्सु खोला र तावा खोलाबाट मनोमानी ढंगले नदीजन्य खानी उत्खनन भइरहेको पाइएपछि गाउँपालिकाले प्रकृया पुरा गरेर मात्र ढुंगा, गिटी र बालुवा झिक्नका लागि स्वीकृति दिने व्यवस्था मिलाउन लागेको हो ।
ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री उत्खननका लागि प्रारम्भिक वाताबरणीय परिक्षण (आइईई)को काम भइरहेको अवस्थामा केही व्यक्ती/समुहले मनोमानी ढंगले नदीजन्य सामग्री निकालिरहेको पाइएकाले रोक लगाइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो ।
निजी घर तथा विकास निर्माणको काममा भने गाउँपालिकाको स्वीकृति लिएर तोकिएको राजस्व बुझाएर ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री निकाल्न पाइने जनाइएको छ ।
साप्सु खोलाले छोएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, साकेला गाउँपालिका–रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा नदीजन्य सामग्रीको खानी रहेको छ । यस्तै, तावा खोलाले छोएको साकेला गाउँपालिका–३ खिदिमा, साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिममा नदीजन्य खानी रहेको छ ।
गाउँपालिकाको सूचनालाई बेवास्ता गरी नदीजन्य सामग्री संकलन तथा उत्खनन गरेको पाइए कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ ।