Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामार्फत ‘लकडाउन’ लागू

    काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामार्फत ‘लकडाउन’ लागू


    • बिहिवार, भाद्र ४ २०७७

    • नेपाल वाइड


    काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामार्फत ‘लकडाउन’ लागू

              कोभिड­-१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०:३० सम्म र बेलुका ३ बजेदेखि ५:३० सम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।     
         
            सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।     
         
            कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन भिडभाड गर्न, सभा जुलुस गर्नसमेत निषेध गरिएको छ । परम्परागत र दैनिक रुपमा भइ आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।     
         
              शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।     
         
            अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुनेहरु सिधै विमानस्थल जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने जनाइएको छ ।

          अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिनेछ । उक्त आदेशको उल्लंघन भएमा आदेशको पालना गर्ने गराउने काममा अबरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।

    सम्बन्धित समाचार