बिहिवार, भाद्र ४ २०७७
नेपाल वाइड
कोरोना भाइरस (कोभिड–१९) को अशरकाबीच खोटाङको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक आय (राजस्व) लक्ष्यको ९३ प्रतिशत प्रगती हासिल गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागि २९ लाख ५९ हजार ३५० रुपैया आन्तरिक आय (राजस्व) प्रक्षेपण गरिएकामा २७ लाख ४५ हजार ७२१ रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ९ वटा वडा कार्यालयबाट १४ लाख ९३ हजार ४८६ रुपैयाँ र गाउँपालिकाको कार्यालयबाट १२ लाख ५२ हजार २३५ रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख योगेश श्रेष्ठले बताउनुभयाे ।
आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले प्रक्षेपण गरे अनुशार सतप्रतिशत १६ लाख ९ हजार ५५० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको थियो । गाउँपालिकाले मालपोत (भूमीकर), सम्पत्ती मूल्यांकन कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क, टेण्डर शुल्क, परिक्षा शुल्क, घरजग्गा शुल्क, रजिष्ट्रेसन शुल्क, गिटी बालुवा शुल्क लगायतका शिर्षकबाट राजस्व संकलन गरेको हो ।
चालु आर्थिक वर्ष गत आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि गरी ३३ लाख बराबरको राजस्व संकलन गर्ने अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताउनुभयो । वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयबाट संकलन भएको राजस्व हरेक महिनाको ३ गते राजस्व खातामा अनिवार्य जम्मा गर्ने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय राजस्व परामर्श समितिका संयोजक एबं गाउँपालिका उपाध्यक्ष कविता राईले कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिमा पनि लक्ष्यको ९३ प्रतिशत प्रगती हुनु भनेको राजस्वप्रतिको योजना ढृड कार्यान्वयन भएको उल्लेख गरेकी छन् । ‘कोभिड–१९ को महामारीकाबेला पनि यत्तीको मात्रामा राजस्व संकलन हुनु भनेको ठूलो सफलता हो,’ उपाध्यक्ष राईले भनिन्, ‘यस आर्थिक वर्ष तोकिएको लक्ष्य सहजै पुरा हुने बिश्वास राखेका छौँ ।’ राजस्वको श्रोत, दायरा र दर स्थितिको बिश्लेषण गरी आगामी आर्थिक वर्ष प्राप्त हुन सक्ने राजस्वको अनुमान गर्ने, स्थानीय उद्योग तथा व्यवसाय प्रवद्र्धन र रोजगारी सिर्जनामा योगदान दिने किसिमका कर नीतिको सम्वन्धमा परामर्श दिने, राजस्व प्रशासन सुधारका लागि आवश्यक परामर्श दिन स्थानीय तहमा स्थानीय परामर्श समिति रहने प्रावधन छ ।